×

असार १५ गतेसम्म ८० हजार मेट्रिक टन मल उपलब्ध हुन्छ : मन्त्री यादव

images

कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवले आउँदो असार १५ गतेसम्म ८० हजार मेट्रिक टन मल उपलब्ध हुने दाबी गर्नुभएकाे छ ।

कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा प्रतिनिधि सभामा भइरहको मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले साल्ट ट्रेडिङले ठेक्का लगाएको मल असार १५ गतेसम्म आइपुग्ने बताउनुभएको हो । यस्तै सरकार–सरकार (जीटूजी) प्रक्रियामार्फत भारतसँग खरिद गर्ने मल पनि चाँडै ल्याउने पहल भइरहेको उहाँले बताउनुभयो । यस्तै रासायनिक मलको सट्टा नानो युरिया मल आयात भइरहेको भन्दै मन्त्री यादवले त्याे प्रयोग गर्न अनुरोध गर्नुभयो ।

‘भारत सरकारबाट यही असारभित्रमा ८० लाख मेट्रिक टन पहिलो चरणमा आउँछ । दोस्रो चरणमा डेढ लाख मेट्रिक टन बाँकी रहन्छ ।  कोभिड महामारीका कारण धेरै देशले उत्पादन गर्न नसकेको अवस्था, रसिया र युक्रेनको युद्धको कारणले पनि मलको अभाव भएको छ ।’

उहाँले सरकारले मल कारखाना निर्माणको विषय चाँडै टुङ्गो लगाउने पनि बताउनुभयो । नेपालमा मल आयात गर्दा सँगै अभाव भइरहेकोले यो समस्याको स्थायी समाधान मल कारखाना नै भएकोले मल कारखाना खोल्ने कुरालाई सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यसैपालिबाट किसान पेन्सन सुरु गर्ने प्रयास हुने बताउनुभयो । किसानले जति उत्पादन हुन्छ त्यसको केही भाग पेन्सनका लागि राख्नुपर्ने र सरकारले त्यसमा १० प्रतिशत थप्ने उहाँले बताउनुभयो ।

यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले बेमौसमी वर्षका कारण पीडित किसानले सरकारी राहत नपाउनुमा दोषी आफू नभएको दाबी गर्दै गृह मन्त्रालयले समयमा भुक्तानी नदिएको आरोप लगाउनुभयो ।  

मङ्गलबार ३१ जेठ २०७९ ०८:३० PM मा प्रकाशित

प्रतिक्रिया