×

तनहुँमा पाडी/बाछी हुर्काउन अनुदान

images

तनहुँ, २ वैशाखः गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ ।

    कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका सात सयवटा पाडी/बाछी हुर्काउन रु १० हजारका दरले अनुदान दिन लागेको हो । विगत तीन वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ । 

    भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा राजेशकुमार चौधरीले पहिलो वर्ष एक सय, दोस्रो वर्ष दुई सय र तेस्रो वर्ष सात सयवटा पाडी/बाछीका लागि बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

    पाडी÷बाछीका लागि रु ७० लाख बजेट विनियोजन भएको छ । उहाँले भन्नुभयो, “तीन सय किसानले छ सय २८ पाडी/बाछीका लागि आवेदन दिइसकेका छन् ।” 

    आवेदनका आधारमा किसानका गोठमा पुगेर स्थलगत अनुगमन गरी अनुदान दिइनेछ । एकजना पशुपालक किसानले बढीमा पाँच वटासम्म पाडी/बाछीका लागि अनुदान पाउने केन्द्रले जनाएको छ ।

    बाह्य जिल्लाबाट ल्याइएका पशुका तुलनामा जिल्लाभित्रै हुर्किएका पाडी/बाछीमा कम रोग लाग्ने भएकाले पशु आयात न्यूनीकरण गर्न अनुदान दिएको केन्द्रका प्रमूख चौधरीले बताउनुभयो । अनुदान पाउनका लागि पाडी/बाछीको उमेर एक वर्ष पुरा भएको हुनुपर्ने मापदण्ड राखिएको छ ।
---

आइतबार​ २ बैशाख २०८१ १२:४३ PM मा प्रकाशित

प्रतिक्रिया