×

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु पुष्टि

images

 काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु पुष्टि गरेको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक., बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।


यससँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्यांकअनुसार रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको जनाएको छ ।

परम्परागत रूपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको यसअघि नै जनाएको थियो ।

मन्त्रालयले १८ मंसिर र ४ पुसमा प्रेस विज्ञप्तिमार्फत सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर लिएर मात्र यात्रा गर्ने प्रावधान मिलाएको छ ।

बिहीबार १ चैत २०८० ०६:०८ PM मा प्रकाशित

प्रतिक्रिया