×

बुधबार एमसीसी पास गर्ने तयारी, बैठकमा आफ्ना सांसद गए पनि प्रचण्ड र माधव अनुपस्थित रहने

images

काठमाडौँ । सरकारले बुधबार ९फागुन ४ मा अमेरिकी संस्था एमसीसीसँगको सम्झौता अनुमोदन गराउने तयारी गरेको छ । अमेरिकाको दबाब बढ्दै गएपछि सत्तारुढ गठवन्धनले एमसीसी पास गर्ने तयारी गरेको हो । 

दबाब बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार एमसीसी सम्झौता संसद् बैठकमा प्रस्तुत गर्ने अडान राखेका छन् भने सत्तारुढ गठवन्धनका नेताद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि लचक बनेका छन् । तर उक्त संसद बैठकमा आफ्ना साँसदहरुलाई पठाए पनि नेताद्धय प्रचण्ड र माधव नेपाल भने अनुपस्थित हुने जनाइएको छ । 

ध्वनी मतका आधारमा एमसीसी पास गर्ने तयारी गरेको सत्ता गठवन्धनले मंगलबार बैठक बसेर औपचारिकरुपमा निर्णय गर्ने र बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच पनि पास गर्ने तयारी गरिएको हो । एमसीसीलाई लामो छलफल गरिरहने पक्षमा देउवा छैनन् । प्रस्तुत भएकै दिन पास गराउने तयारीमा उनी छन् । 

सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र एमसीसी पास गर्ने कुरामा विवाद कायम छ । नेपालमा निकै पेचिलो र विवादित बनेको एमसीसी सम्झौता अनुमोदन गर्ने कुरामा उत्तरी छिमेकी असन्तुष्ट देखिन्छ भने दक्षिणी छिमेकी भारत मौन देखिन्छ । तर विश्वशक्तिको रुपमा रहेको अमेरिकाले प्रतिवद्धताअनुसार फेब्रुअरी २८ भित्र एमसीसी पास नगरे नेपालसम्वन्धी आफ्नो नीतिमा परिवर्तन गर्न बाध्य हुने चेतावनी दिएको छ । 

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मंगलबार सत्ता गठबन्धनको बैठक बसेर एमसीसी सम्झौता संसद्मा ‘टेबल’ गर्ने विषयमा औपचारिक निर्णय गरिने बताइसकेका छन् । यता देउवाले एमसीसी नरोक्न ठूलो दबाब रहेको भन्दै रोकिए वैदेशिक सहायता बन्द हुने र सरकार झन् संकटमा पर्ने बताएका छन् । 

एमसीसी विवाद चर्किएको बेला सत्ता गठवन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर प्रमुख प्रतिपक्षसँग झन तित्तता बढाएको छ । यसले एमसीसीमा ठूला दलहरुबीच साझा धारणा बनाउने संभावना कम भएको छ । 

सत्ता गठवन्धनको बैठकमा देउवाले निकै अडान राखेपछि गठबन्धन नभत्काई चुनावहरुसम्म कायम राख्ने शर्तमा एमसीसी सम्झौता संसद्मा अघि बढाउन प्रचण्ड र माधव लचक भएका हुन् । तर बैठकमा आफ्ना सांसद उपस्थित भए पनि आफूहरु भने अनुपस्थित हुने कुरा उनीहरुले बैठकमा बताएको समाचार छ । 

एमसीसी संसद बैठकमा टेबुल गर्न आनाकानी गर्दै आएका सभामुखलाई पनि मनाउन प्रचण्ड तयार भएका छन् । अन्तिम अवस्थामा एमालेले पनि एमसीसी पास गर्न सहयोग गर्ने प्रधानमन्त्री देउवाको आशा देखिन्छ । यसअघि ओलीकै समयमा एमसीसी सम्झौता संसदमा लगेका थिए । एमसीसी पास गर्ने कुरामा मधेसी दलहरु भने सकारात्मक नै देखिन्छन् । 
 

सोमबार २ फागुन २०७८ ०१:२१ PM मा प्रकाशित

प्रतिक्रिया