×

बलियो राष्ट्रिय शक्ति आवश्यक छ : अध्यक्ष ओली

images

काठमाडौँ, २ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका लागि एउटा राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । 

    ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा आज अनेरास्ववियुको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले नेपाललाई निर्णायक तवरमा काम गर्नसक्नेखालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको धारणा राख्नुभयो । उहाँले एमाले त्यो राष्ट्रिय शक्तिका रुपमा रहे पनि निर्णायक तहमा पुग्न नसकेको बताउनुभयो । 

    “एमाले अहिले पनि सवल राष्ट्रिय शक्तिका रुपमा रहेको छ । तर निर्णायक तहमा पुगेको छैन”, उहाँले भन्नुभयो, “एमालेलाई सवल राष्ट्रिय शक्तिबाट निर्णायक ढङ्गले सुदृढ राष्ट्रिय शक्तिका रुपमा विकास गर्न अभियान पार्टीका छ ।” उहाँले मिसन–२०८४ निर्वाचन मात्र नभई पार्टीलाई सवल राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने अभियान पनि रहेको बताउनुभयो । 

    अध्यक्ष ओलीले समय गतिशील रहेकाले पार्टीमा युवा विद्यार्थीको पुस्तान्तरण र हस्तान्तरण गरिने बताउनुभयो । “पार्टीमा कार्यक्षमता, सक्रिय, योग्यता, भारवहन क्षमताका आधारमा पुस्तान्तरण र हस्तान्तरण हुन्छ”, उहाँले भन्नुभयो । 

    उहाँले अहिले नयाँ राजनीतिक दलको सिद्धान्त समाजवाद वा पुँजीवाद के हो भन्ने थाहा नभएको बताउनुभयो । उहाँले युवा विद्यार्थीलाई समाजले मनपराउने र स्वीकार गर्नसक्ने खालका क्रियाकलाप गर्न सुझाव दिनुभयो । “जनताले मन नपराउने, आलोचित र घृणा गर्ने कुरा नगर्नुहोस्”, उहाँले भन्नुभयो, “कुन चिज कहाँ गर्ने कसरी प्रयोग गर्ने भन्ने कुरा समाजले स्वीकार गर्न खालेको हुनुपर्दछ ।”

    उहाँले कार्ड देखाएर विद्यार्थीको परिचय हुन नसक्ने भन्दै विद्यार्थीमा दयालु, मुस्कानसहितको व्यवहार हुनुपर्नेमा जोड दिनुभयो । 

    एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका इञ्चार्ज किशोर विक्रम मल्लले विद्यार्थी आन्दोलन कमजोर भइरहेकाबेला अनेरास्ववियुले रचनात्मक ढङ्गबाट क्रियाकलाप अगाडि बढाउनुपर्ने बताउनुभयो । अनेरास्ववियुका अध्यक्ष समिक बडालले सङ्गठनलाई शैक्षिक आन्दोलनमा केन्द्रित गर्ने बताउनुभयो । बैठक यही फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । 

बुधबार २ फागुन २०८० ०९:२४ PM मा प्रकाशित

प्रतिक्रिया