×

मंसिर ४ गते माओवादी झोलमा डुब्छ, नेकपा एस सकिन्छ- अध्यक्ष ओली

images

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई स्याल र एमालेलाई सिंहको संज्ञा दिएका छन् । आइतबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको निर्वाचन सामान्य अवस्थाको जस्तो सरकार बनाउनका लागिमात्रै चुनाव नभएको बताए । 

‘मंसिर ४ को निर्वाचन सामान्य अघिपछि हुने निर्वाचनजस्तो होइन । देशको भाग्य भविष्य निर्धारण गर्ने चुनाव हो यो, त्यसैले राजनीतिक रंगमञ्चमा यो चुनावले विशेष अर्थ राख्ने महासंग्रामका रुपमा बुझ्नुपर्छ’, ओलीको भनाइ छ । उनले देश बचाउने, देशको सार्वभौम सत्ता जोगाउने बलियो राष्ट्रिय शक्ति बनाउन जरुरी रहेको भन्दै गठबन्धनले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता छक्कयाउन र अल्मल्याउन लागि परेको बताए । चुनावी सभालाई सम्बोधन गर्दै सकिने अवस्थामा रहेका प्रचण्डलाई आफूले सधैं लिएर ३६ सीट जिताइदिएको बताए ।

उनले भने, ‘हामीले गर्दा ३६ सीट ल्याउनुभएको थियो । चोक्टा खान जानुभएको मंसिर ४ गते कति झोलमा डुब्नुहुन्छ थाहा छैन। उहाँलाई ३६ सीट चाहिएको पनि छैन । उहाँलाई कांग्रेस बोक्ने बलियो काँध भए पुग्छ। आफ्ना लागि होइन ।’ माधव नेपालको पार्टीको आयु मंसिर ४ गतेसम्म मात्रै भएको बताए। पार्टी छाडेर भ्रममा परेर अल्झिएकाहरुलाई चुनावअघि नै फर्किन आग्रहसमेत गरे । 

उनले देशी विदेशी शक्ति मिलेर एमालेलाई कमजोर पार्ने प्रयास गरिएको तर एमाले कमजोर नहुने दावी गरे । ‘देशी विदेशी प्रतिक्रियावादी शक्ति मिलेर एमालेविरुद्ध मोर्चावन्दी र घेरावन्दी गरिरहेका छन् । सय वटा स्यालले पनि एउटा सिहलाई घेरावन्दी गर्न सक्दैनन्’, ओलीको भनाइ छ ।  उनले निर्वाचनमा गठबन्धनलाई सचेत नेपाली जनताले मुखभरीको नभएर मुखमै नअटाउने जवाफ दिनुपर्ने भन्दै ५ पटक प्रधानमन्त्री भएर देशका लागि एउटा काम के गर्नुभो भनेर प्रश्न गरे । 

‘शेरबहादुरजीलाई म भन्न चाहन्छु– उभिएका ठाउँबाट दायाँबायाँ, अगाडि र पछाडि हेर्नुस्, एमालेले गरेका काम देख्नुहुन्छ’, त्यहाँ पनि नदेखे महिला र स्कुल जाने बालबालिकालाई सोधे एमालेले गरेका काम थाहा पाउने बताए ।

आइतबार​ २७ कात्तिक २०७९ ०५:०१ PM मा प्रकाशित

प्रतिक्रिया