×

करोडौंको बीचमा पनि एक्लो महसुस हुन्छ- अध्यक्ष प्रचण्ड

images

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लाखौं, करोडौं जनताको बीचमा पनि एक्लोजस्तो लाग्ने बताएका छन्। नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीद्वारा लिखित 'पलपलको मृत्यु' पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले 'जनयुद्ध'का दिनमा एक्लै हिँड्दा पनि लाखौं, करोडको बीचमा हिँडेजस्तो अनुभूति हुने गरेको बताए।

प्रचण्डले भने- हामी मन्त्री, प्रधानमन्त्री त भयौं तर यो जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको छ । हिजो मानव जातिको मुक्तिको लागि सम्पूर्ण समर्पणसहित जनयुद्धमा लाग्दा पद प्रतिष्ठा र स्वार्थको लागि थिएन । मानव जातिको लागि गरेका थियौं । एक्लै जंगलमा हुँदा,पहाड उकाला ओराला,नदीनाला सबैमा एक्लै हिँड्दा पनि लाखौं करोडौं अरबौंको बीचमा सँगै हिडेको जस्तो लाग्थ्यो ।

तर आज लाखौं करोडौं मान्छेका बीचमा छौं तर एक्लो महसुस हुन्छ । प्रचण्डले जनयुद्ध र शान्ति सम्झौतासँग सम्बन्धीत हजारौं यथार्थमा आधारिक पक्ष रहे पनि यथार्थमा उत्खनन हुन नसकेको र यसको महत्वलाई बुझाउन नसकिएको धारणा राखे । आधुनिक नेपाल निर्माणमा जनयुद्धको महत्वलाई कसैले भूल्न नहुने उनको भनाई छ ।

प्रचण्डले युद्धमा सहभागिहरुलाई जति शान्तिको महत्व अरुलाई नहुने टिप्पणी पनि गरे । कार्यक्रममा सुदन किराँतीले 'जनयुद्ध'मा भोगेको जेलको कष्टपूर्ण समय, उनको परिवारले भोगेको पीडा अनि छोराको चिन्ताले रक्सीको दुर्व्यसनीमा परेकी आमाको कारूणिक अवस्थालाई झल्काउने गरी नाटक देखाइएको थियो।

नाटक हेरिसकेपछि प्रचण्डले किराँती दुई पटक सांसद भइसकेकाले अब मन्त्री, प्रधानमन्त्री अनि राष्ट्रपति ठूलो कुरा नरहेको भन्दै उनलाई शुभकामना समेत दिएका थिए। प्रचण्डले जीवनको बोध हुन छोडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौं ? भन्ने अनुभूति हुन थालेको समेत जिकिर गरे । अहिलेको अवस्था जे–जस्तो भएपनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उनले बताए ।
 

मङ्गलबार २८ भदौ २०७९ ०८:१८ PM मा प्रकाशित

प्रतिक्रिया