×

ओलीले मागे गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा, भन्छन्- सरकार भ्रष्ट र नालायक

images

काठमाडौं, २८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । उनले गृहमन्त्रीसँग अब राजीनामा दिनुबाहेक अर्को कुनै विकल्प बाँकी नरहेको पनि टिप्पणी गरे ।

आज (आइतबार) पार्टी मुख्यालय, च्यासलमा पत्रकार सम्मेलनको आयोजना गर्दै ओलीले गृहमन्त्रीको राजीनामा मागेका हुन् । उनले एयरपोर्टजस्तो संवेदनशील ठाउँबाट नै एक क्विन्टल सुन तस्करी प्रकरणले गृहमन्त्री श्रेष्ठको असफलता देखाइसकेकाले राजीनामा दिनुको विकल्प नभएको टिप्पणी गरे । ‘गृहमन्त्रीले त रोष्टममा राजीनामा गर्न बाहेक जानु भनेको अनौठो कुरा हो’, ओलीले भने, ‘चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन भनेको पक्राउ गर्‍यो, राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्री जवाफदेही होइन ?’ 

उनले अहिले भन्सारमा जे छुँदा पनि सुन नै निस्किने दाबी गरे। ‘ब्रेक सु छोयो सुन, सिगरेट छोयो सुन, एउटा मोटर ल्यायो सुन, एउटा आइटम सुन अर्को आइटम सुन, जे ल्याउँदा नि सुन,’ उनले भने। कैयौं भन्सारमा चेकजाँच नै नहुने उनले बताए। त्यसकारण कम राजश्व उठेको उनले बताए। ‘अरू नाकाहरू चेक नै भएको छैन।  राजश्व किन उठ्दैन, किनभने भन्सारबाट कारोबार नै हुँदैन,’ उनले भने।

यी सबै कुरामा सरकारको  संलग्नता के छ राम्ररी हेर्न र छानबिनका लागि एमालेले समिति बनाउन माग गरेको तर, सरकार पहिल्यै डराएको उनले बताए। उनले गृहमन्त्री श्रेष्ठले बाहिर बाहिर ठूला कुरा गरेर भित्र तस्करहरुसँग साँठगाँठ गरेको बताए। आफूहरुले उच्चस्तरीय समिति बनाएर जाऊँ भन्दा २/४ जना स्वार्थी तत्वका पछाडि समूहबन्दी बनाएर सरकार कुदिरहेको बताए। 

उनले संसद अवरोध हुन नहुने र एमालेले नभई सत्तापक्षले नै संसद अवरोध गरेको बताए । ‘संसद अवरोध हुनै हुँदैन, गर्नै हुँदैन । गर्ने परिस्थित ल्याउनै हुँदैन’, ओलीले भने, ‘संसद देश र जनताका काम गर्ने थलो हो निर्वाध गर्नुपर्छ । संसद निदाएर र सुतेर बस्ने ठाउँ होइन । देश र जनताको पक्षमा बोलिएका कुरालाई सरकारले गम्भीरताका साथ  लिनुपर्छ र स्वस्थ बहसमा आउनुपर्छ ।’

उनले संसदमा प्रतिपक्ष बोल्न उठ्ने वित्तिकै सत्तापक्ष उठेर होहल्ला गर्ने बोल्नै नदिने गरेको समेत बताए । ‘देशको शासकीय प्रशासकीय संरचनामा प्रहार भइरहेको छ । एक दिनमा एउटा नाकाबाट सय किलो सुन पास भइरहेको छ । अनि यो कुराको चुस्की लिने विषय र पार्टीगत पक्षधरताको कुरा हो ? तसर्थ संसद अवरोध हामीले गरेको होइन । राजश्व किन उठ्दैन ? भन्सारबाट कारोबार नै हुँदैन अन्तैबाट कारोबार भइरहेको छ’, ओलीको भनाइ छ । 

 पत्रकार सम्मेलनमा ओलीले सरकार भ्रष्ट र नालायक भएको बताए । ‘यति अयोग्य, यति नालायक सरकारको यस्तो भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न अठ्यारो हुनुपर्ने हो’ ओलीले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डलाई भने, ‘उहाँले आफैं राजीनामा गर्नु पर्ने हो ।’

गृहमन्त्री  श्रेष्ठ र अर्थन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगर्नु त अनौठो र आश्चर्य भएको उनले बताए । ‘राजीनामा नगरेर कसरी बस्न सकेको ? आठौं कि नवौं अश्चर्य भन्नुपर्छ’ ओलीले भने, ‘त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो, त्यो बहन नगरेर फेरि पनि मन्त्री भएर झण्डा हलाउदै हिँड्न अठ्यारो लाग्नु पर्ने होइन ?’

 उनले भने, ‘यसका कनेक्सन कहाँ छ। टुप्पो टुप्पो मात्रै हेरेर हुँदैन। जरो कहाँ छ। स्पष्ट देखियो तरु २३४ पटक कुनै गिरोहसम्म निरन्तर संवाद कसरी हुन्छ मान्छेको ? यो निष्पक्ष छ। तैपनि सोधपुछ पनि गर्नुपर्दैन। यसरी पनि देश चल्छ ? अनि बाहिर स्टण्ट दिएको छ। गफ दिएको छ। भ्रमपूर्ण प्रचार गरेको छ।’

आइतबार​ २८ साउन २०८० ०२:२४ PM मा प्रकाशित

प्रतिक्रिया