×

चितवन निकुञ्जले पर्यटकीय गतिविधि असार १ गतेदेखि बन्द गर्ने

images

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आगामी असार १ गतेदेखि बन्द गर्ने निर्णय गरेको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो । 

मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोलामा बाढी आउने तथा रूख ढलेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको निकुञ्जले जनाएको छ ।

निकुञ्जले प्रत्येक वर्ष वर्षातको समयमा यस्ता गतिविधि बन्द गर्दै आएको छ । योसँगै बाढीको डर हुने भन्दै राप्ती नदीमा गरिने डुङ्गा सफारी पनि बन्द गरिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जभित्र हुने पर्यटकीय गतिविधिबाट यस आर्थिक वर्षको वैशाखसम्म ८ करोड १७ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । सो समयमा १ लाख ५९ हजार बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए ।

मङ्गलबार ३१ जेठ २०७९ ०७:२० AM मा प्रकाशित

प्रतिक्रिया