काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्नै पार्टी नेतृत्वको अघिल्लो सरकारले कर्णालीका भूकम्प पीडितलाई झुक्याएको बताएका छन् ।
माओवादी सशस्त्र युद्ध सुरुको ३०औँ वर्ष प्रवेशको अवसरमा रुकुम पश्चिमको सानी भेरी गाउँपालिकामा आयोजित विशेष समारोहमा नेता शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भूकम्प प्रभावितलाई घर बनाउन ५ लाख दिने भनेर झुक्याएको बताएका हुन् ।
शर्माले भने, ‘हाम्रै नेतृत्वको अघिल्लो सरकारले ५ लाख दिने भनेर झुक्काएछ । निर्णय गरेको भनियो तर कतै पनि भेटिएन । अहिले आएको यो सरकारले ४ लाख दिने निर्णय गरेको छ । एक लाख घटेर आए पनि अब पीडितले घर बनाउने पैसा पाउने भएका छन् । पहिले पनि हामीले हारगुहार नगरेको होइन । हाम्रो वरिपरिका मन्त्री पनि थिए (शक्ति बस्नेत) तर केही भएन । अहिलेको सरकारले कमसेकम कार्यविधि टुंग्याएको छ । केही बजेट आएको छ, अब काम गर्न सकिने भएको छ ।’
पूर्वमन्त्री शर्माले रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितको लागि राहत, उद्धारलगायतका काममा आफू सुरुदेखि नै संलग्न रहेको बताए । उनले रुकुमले धोका दिन नजाने तर धोका खाने गरेको प्रसंग समेत कोट्याउँदै पार्टीमा सुधार ल्याउनुपर्छ भन्दा आफूमाथि अनेक लाञ्छनाहरू लगाइएको बताए ।
उपमहासचिव शर्माले पार्टीले दलित, महिला, जनजाति, पहिचान र संस्कृतिका मुद्दा छाडेकाले आफैंभित्र रुपान्तरण हुनुपर्छ भन्ने मुद्दा पार्टीभित्र आफूले उठाएका पनि उनले बताए । आफूले उठाएको मुद्दामा ५ महिनासम्म पार्टीभित्र बहस चलेर केही समय अघिको केन्द्रीय समितिको बैठकले स्वीकार गरेको उनले बताए ।
पार्टी अध्यक्ष प्रचण्डतर्फ लक्षित गर्दै उनले दुई चार जना आशेपासे र अन्धभक्तहरु बोकेर समाजवादको यात्रा तय गर्न नसकिने बताए । समाजवादको यात्रा तय गर्न माओवादी घटकहरुबीचको एकता अपरिहार्य रहेको उनले बताए । आफूले व्यक्तिगत रुपमा समेत नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई एकताको लागि आग्रह गरेको पनि उनले बताए । ‘माओवादी भन्ने, माओवादीमात्रै भएर हुँदैन । अरुलाई पनि लिएर व्यापक जनताको तागतमा समाजवादमा जान सकिन्छ । समाजवादमा जाने एक्लैदुक्लै हुँदैन । दुई चार जना आशेपासे र अन्धभक्तहरु बोकेर समाजवाद हुँदैन । समाजवादको लागि सबै विचारलाई फुल्न दिनुपर्छ,’– उनले भने ।
प्रतिक्रिया