रौतहट — रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनिया स्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ। मंगलबार दिउँसो नुहाउन गएका १०/१० वर्षका एक बालक र दुई बालिका नदीको तीव्र बहावका कारण एकैसाथ बेपत्ता भएका थिए।
प्रहरीका अनुसार बुधबार बिहान ६ बजे घटनास्थलबाट डेढ किलोमिटर दक्षिण जिङडिया पुल नजिक दुई शव फेला परेका छन्। मृत फेला पर्नेहरूमा देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहम्मद रमतुल्लाह र १० वर्षीया सवनम खातुन रहेका छन्। सोही घटनामा बेपत्ता भएकी १० वर्षीया रौशन खातुनको खोजी जारी रहेको छ।
बेपत्ता बालिकाको खोजीका लागि स्थानीय प्रहरी, सशस्त्र प्रहरी बलको टोली र रबर बोटसहितको विशेष डुबान उद्धार (DM) टोली परिचालन गरिएको छ। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको छ।
प्रतिक्रिया