×

क्षमतावान् युवा विदेश गइरहेका छन्, उनीहरूलाई देशमै अवसर दिनुपर्छ : मन्त्री गहतराज

images

 युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथकले युवा उद्यमको नाममा लगानी भएको रकम सदुपयोग नभएको दाबी गर्नुभएको छ ।

युथ भिजन, १० वर्षे योजना तथा राष्ट्रिय युवा नीतिको विषयमा शिक्षा पत्रकार सञ्जाल (ईजोन) र राष्ट्रिय युवा परिषद्ले काठमाण्डौमा आज आइतवार गरेको परामर्श गोष्ठीमा बोल्दै मन्त्री गहतराजले विभिन्न कोष, प्रतिष्ठान, विकास समिति लगायतका नामबाट युवा उद्यमका नाममा अर्बौँ रुपैयाँ लगानी भएको र यसको सदुपयोग हुन नसकेको बताउनुभयो । 

उहाँले सरकारले देशको युवा शक्तिको क्षमता चिनेर काम गर्नुपर्नेमा ढिलाइ भइरहेको पनि बताउनुभयो । ‘देशमा १४ वटा कोष रहेछन्, सबैको काम उस्तै–उस्तै हो, राज्यको अर्बौँ रुपैयाँ खर्च भएको छ तर उपलब्धि छैन’, मन्त्री गहतराजले भन्नुभयो । 

देशमा युवाको क्षमताअनुसारको काम र उद्यमको वातावरण बन्न नसक्दा हरेक दिन क्षमतावान् र देशलाई चाहिने युवा विदेश गइरहेकोमा दुःख व्यक्त गर्दै मन्त्री गहतराजले नारामा मात्रै नभएर व्यवहारमै सरकारले काम गर्नुपर्ने बताउनुभयो । ‘क्षमतावान् र लाभपूर्ण उमेर समूहका व्यक्ति विदेश गएर अर्कैको देश समृद्ध बनाइदिन बाध्य छन्, उनीहरूलाई हामीले देशमै अवसर दिएर नेपाललाई समृद्ध बनाउने अभियानमा लाग्नुपर्छ’, उहाँले भन्नुभयो । 

कार्यक्रममा युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, बाग्मती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल, शिक्षा पत्रकार सञ्जालका अध्यक्ष प्रकृति अधिकारी लगायतले युवा नीति र युथ भिजनलाई समय सापेक्ष परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभयो । 

आइतबार​ २९ जेठ २०७९ ०६:५५ PM मा प्रकाशित

प्रतिक्रिया