×

आर्थिक अनियमितताको आरोप झुटो भएको दाबी

images

काठमाडौँ, ३० वैशाख : शङ्करदेव क्याम्पस प्रमुख डा कृष्णप्रसाद आचार्य र स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीले आफूहरुमाथि लागेको आर्थिक अपचलनको आरोपको खण्डन गरेका छन् । 


आज यहाँ पत्रकार सम्मेलन गरी उनीहरुले भ्रष्टाचार भएको भन्ने आरोपको खण्डन गरेका हुन् । शङ्करदेव क्याम्पस प्रशासन र स्ववियुमाथि क्याम्पस प्रमुख, लेखाप्रमुख र स्ववियु पदाधिकारीसँग मिलेर आर्थिक अपचलन गरेको आरोप लागेको छ ।  
क्याम्पस प्रमुख डा आचार्यले आर्थिक हिनामिना र भ्रष्टाचार भइरहेको भन्ने आरोपमा आफू सहमत नरहेको स्पष्ट गर्नुभयो । उहाँले आफू क्याम्पस प्रमुख भएर आउनुअघिको नेतृत्वको कामकारबाहीबारे जिम्मेवार हुन नसक्ने बताउँदै आफ्नो नेतृत्वमा क्याम्पसको सबै कामकारबाही पारदर्शी रहेको दाबी गर्नुभयो ।  

    स्ववियु अध्यक्ष सुशान्त बस्नेत र सचिव मदनराज उपाध्यायले केही समूहले क्याम्पस प्रशासन र लेखा प्रमुखसँग मिलेर आर्थिक अपचलन गरेको आरोप झुटो भएको बताउनुभयो । उहाँले स्ववियु निर्वाचनपछि आफूहरुले विभिन्न रचनात्मक र सिर्जनात्मक कार्य गर्दै आएको पनि बताउनुभयो ।
---

आइतबार​ २९ बैशाख २०८१ ०३:४६ PM मा प्रकाशित

प्रतिक्रिया