वीरगन्ज — पर्सा प्रहरीले वीरगन्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१० स्थित आदर्शनगरबाट दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई रकमसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेहरूमा भारतको बिहार, सीतामढी जिल्लाका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह, सोही ठाउँका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ का २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन् ।
आदर्शनगर क्षेत्रमा गुडिरहेका प्रदेश २–०३–००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरका मोटरसाइकललाई रोकेर खानतलासी गर्दा उनीहरूको साथबाट उक्त परिमाणको रकम फेला परेको प्रहरीले जनाएको छ। बरामद रकममध्ये सुरजको साथबाट १ लाख, उपेन्द्रको साथबाट १८ लाख १६ हजार, सागरको साथबाट १८ लाख ३४ हजार र राहुलको साथबाट १६ लाख रुपैयाँ बरामद भएको हो ।
प्रहरीका अनुसार बरामद रकममा १ हजार दरका ४ हजार ५ थान, ५०० दरका २ हजार ३ सय ५३ थान, १०० दरका ६ सय ४३ थान र ५० दरका ८४ थान नोटहरू रहेका छन् । पक्राउ परेका व्यक्तिहरूले सो रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले नगद र मोटरसाइकलसहित उनीहरूलाई हिरासतमा राखेर हुण्डी वा गैरकानुनी वित्तीय कारोबारअन्तर्गत थप अनुसन्धान अगाडि बढाएको छ ।
प्रतिक्रिया