×

लुम्बिनी अल स्टार्स नेपाल टी-२० लिग च्याम्पियन

images

काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगको उपाधि जितेको छ। बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । विराटनगरका लागि ओपनर अर्जुन साउदले सर्वाधिक ३४ रन योगदान गरे । उनले ४० बल खेल्दै १ चौका र दुई छक्का प्रहार गरे । हुसेन टलत १३ रन र पृथु बास्कोटा ३१ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका हर्मीतसिंह र सागर ढकालले समान दुई विकेट लिँदा विपुल शर्मा र किशोर महत्तोले एक-एक विकेट लिए । यसअघि, टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी विकेट गुमाउँदै चार बल बाँकी रहँदा अलआउट हुँदै १ सय ३३ रनको योगफल तयार पारेको थिए ।

लुम्बिनीका लाहिरु मिलान्थाले सर्वाधिक ४१ रनको योगदान गरे । उनले २८ बलमा समान तीन चौका र तीन छक्का प्रहार गरे । मिलान्थाले रोहित पौडेलको बलमा क्याचआउट हुनु अघि पहिलो विकेटका लागि हर्मीतसिंहसँग ६४ रनको साझेदारि गरेका थिए । हर्मीतसिंह १८ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३० रन बनाएर क्याचआउट भए ।

कप्तान दिपेन्द्रसिंह ऐरी २० रनमा आउट हुँदा लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । विराटनगरका नन्दन यादव र राज ननन्ले समान दुई विकेट लिँदा सूर्य तामाङले ४ ओभरमा ८ रन खर्चिएर एक विकेट लिए । कियोन जोसेफ र कप्तान रोहित पौडेलले समान एक विकेट लिए ।

समूह चरणमा १० मध्यका ८ खेल जितेर १६ अंकसहित शीर्ष स्थानमा रहँदै लुम्बिनी प्लेअफ पुगेको थियो । प्लेअफमा जनकपुर रोयल्सलाई हराउँदै लुम्बिनीले फाइनल यात्रा तय गरेको थियो ।

समूह चरणमा समान ५ जित र हारको नतिजा निकालेको विराटनगर १० अंकसहित तेस्रो स्थानमा रहेर इलिमिनेटर पुगेको थियो । इलिमिनेटरमा काठमाडौं नाइट्सलाई हराउँदै विराटनगरले दोस्रो क्लालिफायरमा स्थान पक्का गर्‍यो । उक्त खेलमा जनकपुरलाई हराउँदै फाइनलमा लुम्बिनीसँगको भेट पक्का गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) र सेभेन थ्री स्पोर्टसको आयोजनामा जारी प्रथियोगिताको विजेता बनेको लुम्बिनीले ५५ लाख प्राप्त गर्नेछ । उपविजेता विराटनगरले ३० लाख, तेस्रो स्थानको जनकपुरले १० लाख र चौथो भएको काठमाडौंले ५ लाख प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ लाख, उत्कृष्ट ब्याटर र बलरले समान २ लाख ५० हजार र उदयीमान खेलाडीले १ लाख ८० हजार पाउनेछन् ।

बुधबार २७ पुस २०७९ ०३:३८ PM मा प्रकाशित

प्रतिक्रिया