×

इतिहासमा एकचोटि चुनौतीपूर्ण अवसर प्राप्त भएको छ: प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्दै जाने बताएका छन। पार्टी निकट युवाहरूको संगठन वाईसीएलको बैठकलाई सम्बोधन गर्दै पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको बताए । उनले संगठन विस्तार गरेर पार्टीलाई सुदृण बनाउन लाग्न निर्देश गरे ।

उनले भने, ‘हामीलाई इतिहासमा एकचोटि चुनौतीपूर्ण अवसर प्राप्त भएको छ । हामीलाई क्रान्तिबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अवसर प्राप्त भयो । त्यो चुनौतीपूर्ण अवस्थामा हामीले संविधान घोषणा गरेका थियौं ।’

संविधान कार्यान्वयनको प्रक्रिया पनि आफ्नै नेतृत्वको सरकारले बनाएको प्रचण्डको भनाइ थियो । पहिलो कार्यकालमा मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोर, गरिब किसानको ऋण मुक्त गर्ने निर्णय गरेपनि कार्यान्वयन गर्न नपाएको उनले बताए ।

‘यो अवसरलाई हामीले सदुपयोग गर्नुछ। पार्टी निर्माण, वाइसिएललाई अझ बलियो बनाउन, जनताको विकासका आकांक्षालाई सम्बोधन गरेर त्यसलाई सदुपयोग गर्नुछ,’ बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सुशासन दिने र भ्रष्टाचार अन्त्य गरेर आर्थिक समृद्धिको यात्रा अगाडि बढाउनुछ।’

आफूले प्रतिनिधि सभामा मंगलबार सम्बोधनका क्रममा बताएका विषयबस्तुलाई कार्यान्वयन गर्न सके नयाँ इतिहास र नयाँ युग सुरू हुने पनि उनले बताए। उनले प्रतिक्रियावादीका धेरै घेराबन्दी चिरेर यहाँसम्म आइएको बताएका थिए। प्रधानमन्त्रीले दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य, आर्थिक समृद्धिको बाटोमा लगेको बताए ।

उनले भने, ‘अहिले मैलै एउटा संकल्पको रूपमा लिएको छु । यो म एक्लैले गरेर सम्भव हुने कुरा छै्रन । हामीलाई विभिन्न उपलब्धि प्राप्त गर्नका लागि पार्टीका जनसंगठन र युवाहरूले नै महत्वपूर्ण भूमिका खेलेको हो ।’

प्रतिक्रियावदी शक्तिहरूको घेरालाई चिरेर आएको उल्लेख गर्दै उनले भने, ‘हिजो हामीले जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाउथ्यौं अहिलेपनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रियाभित्रबाट यो सफलता पार्टी आन्दोलन, नेपाल र नेपालीलाई प्राप्त भएको हो । यसलाई कसैले पनि कम आँक्न हुँदैन ।’


 

बुधबार २७ पुस २०७९ ०२:१५ PM मा प्रकाशित

प्रतिक्रिया