जनकपुरधाम । पैसा नभएकै कारण अस्पतालले भर्ना लिन अस्वीकार गरेपछि सप्तरीमा एक विपन्न महिलाले सरकारी अस्पताल अगाडिको फुटपाथमै शिशु जन्माएकी छन्। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिँदा राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानले सडक पेटीमै बच्चा जन्माउनुपरेको हो।
बुधबार बिहान करिब साढे २ बजे घडित यो घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी आक्रोश व्यक्त भइरहेको छ भने दोषी स्वास्थ्यकर्मीलाई कारबाहीको माग उठेको छ।
बबिताका अनुसार मङ्गलबार राति साढे १ बजे प्रसव पीडा सुरु भएपछि श्रीमान् हरेराम पासवान र नातेदारका साथमा उनी सिटी रिक्सा चढेर अस्पताल पुगेकी थिइन्। अस्पतालको प्रसूति विभागमा खटिएकी स्टाफ नर्सले भर्ना गर्नुअघि अल्ट्रासाउन्ड र रगत-पिसाब परीक्षण गराउनुपर्ने र त्यसका लागि २५ सय रुपैयाँ लाग्ने बताएकी थिइन्।
बबिताले आफू विपन्न रहेको र तत्काल पैसा नभएको भन्दै बिहान भएपछि जाँच गराउने र अहिले भर्ना गरिदिन आग्रह गरेकी थिइन्। तर, स्वास्थ्यकर्मीले रकम र जाँचबिना भर्ना लिन नसकिने भन्दै हप्काएर बाहिर निकालिदिएका थिए।
अस्पतालबाट निकालिएपछि बबिता परिवारसहित बाहिरको एक औषधि पसल अगाडि पुगेकी थिइन्। त्यहाँ पसलेले बिहान चिकित्सक आएपछि जाँच गराइदिने आश्वासन दिए पनि केही बेरमै बबितालाई तीव्र प्रसव पीडा भयो र उनले फुटपाथमै छोरा जन्माइन्।
बच्चा जन्मिएपछि परिवारले सालनालसहित शिशुलाई बोकेर पुनः अस्पताल पुर्याएका थिए। तर, त्यहाँका स्वास्थ्यकर्मीले सहयोग गर्नुको सट्टा धक्का दिएर निकालिदिने धम्की दिएपछि बाध्य भएर घर फर्किनुपरेको बबिताको गुनासो छ।
यता, अस्पतालका फ्री हेल्थ सर्भिसका फोकल पर्सन मनोज देवले भने महिला राति आएको तर आवश्यक परीक्षणका लागि ल्याब पठाइएकामा उतैबाट निस्किएको दाबी गरेका छन्। उनले बिहान शिशु जन्मिएपछि मात्र उनीहरू अस्पताल आएको र यहाँ सालनाल काट्ने काम भएको बताए।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले आफू काठमाडौँमा रहेको र भिडियोमार्फत घटनाबारे थाहा पाएको भन्दै यसबारे छानबिन गर्न समिति गठन गरिने जानकारी दिएका छन्।
सरकारी अस्पतालहरूमा विपन्न नागरिकका लागि नि:शुल्क उपचार र १० प्रतिशत बेड छुट्याउनुपर्ने कानुनी प्रावधान भए पनि प्रसव पीडामा रहेकी महिलालाई हप्ताएर सडकमा पुर्याइएको यस घटनाले मुलुकको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।
प्रतिक्रिया