×

निर्दोष डराउनुपर्दैन, कोही दोषी छुट्ने छैनन्-गृहमन्त्री नारायणकाजी श्रेष्ठ

images

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि नछाड्ने चेतावनी दिएका छन् । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा हाईप्रोफाईलहरुको नाम मुछिएको छ।

यस्तोमा नेताहरुले दबाब दिएर उनीहरुलाई उन्मुक्ति दिन लागेको त होईन भन्ने चर्चा चलिरहेको बेलामा गृहमन्त्री श्रेष्ठले भने कुनैपनि हालतमा दोषीलाई उम्कन नदिने चेतावनी दिएका हुन् ।

आज (बुधबार) काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले कमिसन र भ्रष्टाचारले देश जर्जर बनेको पनि टिप्पणी गरे ।

उनले भने–‘कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न म पछि हट्दिनँ ।’ हाम्रो देशमा अरू थुप्रै समस्याहरू छन्। कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको छ। कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ र सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पार्नुपर्छ।’

सो क्रममा उनले परिवार पाल्नको लागि विदेशिएका ३० लाख नेपालीहरुलाई स्वदेशमै रोजगारी दिनेगरि काम थालिएको बताए । त्यसको लागि वर्तमान सरकारले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मूल रूपमा उठाएको उनको भनाई छ ।

उनले भने,‘कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन्। दोषीलाई जहाँ गएपनि छोड्दैनौं, यो हाम्रो प्रतिवद्धता हो।’

बुधबार २७ बैशाख २०८० ०९:०६ PM मा प्रकाशित

प्रतिक्रिया