×

खबरदारी पूरा गर्न सरकारमा सहभागी भयौँ : मन्त्री रावल

images

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले विगतमा प्रदेश सरकारलाई गरिँदै आएका खबरदारीलाई पूरा गर्नका लागि नेपाली कांग्रेस प्रदेशमा सरकारमा सहभागी भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस टीकापुर नगर समितिले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उहाँले विगतका दिनहरुमा आफूहरु सरकारको प्रमुख प्रतिपक्षीको भूमिकामा रहँदै सरकारले गर्न नसकेका कामहरूमा खबरदारी मात्रै गरेको र अब त्यतिबेला गरेका खबरदारीले पनि पूरा हुन नसकेका कामहरूलाई पूर्णता दिनका लागि सरकारमा सहभागी भएको बताउनुभएको हो । 

“सङ्घीयताको नयाँ अनुभवमा अहिले नागरिकहरूमा प्रदेश सरकारको आवश्यकता नभएको महसुस भएको अवस्थामा नागरिकहरूलाई प्रदेश सरकारको भूमिका छ, भन्ने मानसिकताको विकास गर्नुपर्नेछ”, मन्त्री रावलले भन्नुभयो, “अब हाम्रो कार्यकालको केही महिना मात्रै बाँकी रहँदा प्रदेश सरकारको अनुभूति हुने गरी नागरिकहरूलाई काम गरेर देखाउने अठोटका साथ कांग्रेस सरकारमा सहभागी भएको छ ।”

उहाँले बाँकी रहेको अवधिमा थुप्रै कामहरु गर्नुपर्ने भएको उल्लेख गर्दै सरकारमा सहभागी हुँदा अवसरभन्दा चुनौती बढी रहेको बताउनुभयो । उहाँले सङ्घीय सरकारदेखि सबै प्रदेश सरकारमा गठबन्धन रहेको चर्चा गर्दै स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनसँगै जाने बताउनुभयो ।

“देशको संविधान र लोकतन्त्र नै खतरामा परेको बेला जसरी  लोकतन्त्रको रक्षाका लागि पाँच दल एक ठाउँमा आयो, अब त्यसलाई नै निरन्तरता दिनका लागि पनि स्थानीय तहको निर्वाचनमा गठबन्धनका साथ जानुपर्छ”, मन्त्री रावलले भन्नुभयो, “कतिपय ठाउँमा गठबन्धन हुनुहुँदैन भन्ने कुरा पनि आएको छ । तर केन्द्रीय समितिले गरेको निर्णय हामी सबैले मान्नुपर्छ ।”

आइतबार​ २७ चैत २०७८ ०८:५६ PM मा प्रकाशित

प्रतिक्रिया