×

सरकारले लगानीको सुरक्षा गर्छ : गृहमन्त्री खाँण

images

गृहमन्त्री बालकृष्ण खाँणले सरकारले लगानीको सुरक्षा गर्ने बताउनुभएको छ । नेपालका यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले कुनै पनि व्यवसायलाई प्रोत्साहन, संवद्र्धन र सुरक्षा गर्ने दायित्व सरकारको भएको बताउनुभयो । “नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री खाँणले सडक दुर्घटनाका कारण बर्सेनि हजारौँ नागरिकले अकालमा ज्यान गुमाएको भन्दै सडक दुर्घटना न्यूनीकरणमा यातायात क्षेत्र गम्भीर हुनुपर्ने बताउनुभयो । सुरक्षित यात्राको व्यवस्था कसरी गर्न सकिन्छ त्यसतर्फ यातायात क्षेत्र लाग्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री खाँणले यात्रुलाई सुरक्षितरूपमा गन्तव्यस्थलसम्म पु¥याउने जिम्मा यातायात क्षेत्रको भएको बताउँदै यातायात क्षेत्रलाई परेको समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो । उहाँले राम्रो कन्डिसन भएका सवारी साधनलाई मर्मत गरेर सञ्चालन गर्नसके देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यातायात क्षेत्रको सुधारका लागि आवश्यक पर्ने ऐन, नियम, कानून संसद् चल्न नसकेकाले परिवर्तन गर्न नसकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा समयानुकूल परिवर्तन गर्दै लैजाने बताउनुभयो ।

गण्डकी प्रदेशका यातायातमन्त्री कुमार खड्काले मुलुकको विकासको मुख्य आधार सडक सञ्जाल र यातायात भएको भन्दै यसलाई राज्यले विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । यातायात क्षेत्रको समस्या राज्यले बुझ्नुपर्ने उहाँको भनाइ थियो ।

बागमती प्रदेशका यातायातमन्त्री घनश्याम दाहालले यातायात क्षेत्रको समस्या समाधानका लागि व्यवसाय र सरकार बसेर समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले बागमती प्रदेशको यातायात कार्यालयलाई प्रविधिमैत्री बनाउँदै लगिएको उल्लेख गर्दै चार महिनाभित्र सवारी लाइसेन्स प्राप्त गर्नेगरी मन्त्रालयले कामलाई अगाडि बढाएको बताउनुभयो । उहाँले उपत्यकामा सञ्चालित ट्याक्सी मिटरमा हिँड्न नमाने कारबाही गर्ने बताउनुभयो ।

प्रदेश नं १ का यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सबै मिलेर यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्ने बताउनुभयो । यातायात क्षेत्रमा पार्किङको समस्या यथावत रहेको उहाँको भनाइ थियो ।

लुम्बिनी प्रदेशकी यातायातमन्त्री डेगा मगरले यातायात क्षेत्रको ऐन, नियम कानून बनाउँदा व्यवसायी र प्रदेश सरकारबीच सहकार्य हुनुपर्ने बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले अर्बौं रुपैयाँ लगानी रहेको नेपालको यातायात क्षेत्रलाई राज्यले उपेक्षा गरेको बताउनुभयो । इन्धन र इन्जिनको मूल्यवृद्धि हुँदा यातायात क्षेत्रको भाडा समायोजन हुन नसक्नु दुःखद भएको उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सरकारले कुन कुन क्षेत्रमा समस्या छ त्यसको समाधानका लागि सम्बन्धित क्षेत्रका सरोकारवालासँग छलफल गरी समाधान गर्नुपर्ने बताउनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले सरकारले सडक यातायातलाई उपेक्षित गरेको आरोप लगाउनुभयो । महासङ्घका पूर्वअध्यक्ष चोपनारायण श्रेष्ठ, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजनबाबु श्रेष्ठ, यातायात मजदुर नेताहरु भीमज्वाला राई, रामचन्द्र कार्की लगायतले १० खर्ब लगानी रहेको नेपालको यातायात क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

आज उद्घाटन भएको छैटौँ महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महासङ्घको भोलि ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा बन्दसत्र र पर्सि निर्वाचनको कार्यक्रम रहेको महासचिव एवं प्रवक्ता सरोज सिटौलाले जानकारी दिनुभयो । महासङ्घमा देशभरका २५० भन्दा बढी कम्पनी तथा एक हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने महासचिव सिटौलाले बताउनुभयो । 

आइतबार​ २७ चैत २०७८ ०८:४६ PM मा प्रकाशित

प्रतिक्रिया