×

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने देउवाको प्रस्ताव, कार्य सम्पादन समितिबाट निर्णय हुने

images

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका छन् । आज बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने र विश्वासको मतको खिलापमा मतदान गर्ने विषयमा नेताहरूबीच मत बाझिएको छ।

पदाधिकारी बैठकले ठोस निर्णय गर्न नसकेपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ। अहिले केहीबेरमा  नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमै केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।

कांग्रेस विधानअनुसार केन्द्रीय समिति बैठक तत्काल बस्न नसक्ने अवस्थामा केन्द्रीय कार्यसम्पादन समितिले आवश्यक निर्णय गर्न सक्छ तर पदाधिकारी निर्णयलाई विधानले चिन्दैन। त्यसैले कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने/नदिनेबारे छलफल गरी वैधानिक निर्णय गर्न लागेको हो।

प्रधानमन्त्री दाहालले सोमबार साँझ सभापति देउवालाई भेटेर विश्वासको मत मागेका थिए। देउवाले पार्टीमा छलफल गरी निर्णय दिने जवाफ दिएका थिए। त्यसअनुसार देउवाले आज बिहान पदाधिकारी बैठक राखेर नेताहरूका सुझाव सुनेका हुन्। 

कांग्रेसको कार्यसम्पादन समितिलाई केन्द्रीय समितिले लिने निर्णय गर्ने अधिकार छ । बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘केन्द्रीय समितिबाट अनुमोदन गर्ने गरी अब कार्य सम्पादन समितिबाट निर्णय गर्छौं ।’

मङ्गलबार २६ पुस २०७९ ११:४९ AM मा प्रकाशित

प्रतिक्रिया