×

प्रदेश एकमा मन्त्री थापाको निधनको शोकमा बिहीबार सार्वजनिक विदा

images

विराटनगर ।  प्रदेश १ सरकारले  बिहीबार प्रदेश १ मा सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा विदा दिएको हो ।

गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विहान विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।

यस्तै सरकारले राष्ट्रिय झण्डा झुकाउने निर्णय समेत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ५६ वर्षका थापा नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (क) बाट मंसिर ४ मा हुने चुनावका लागि उम्मेदवार थिए।

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा थापा एक महिनादेखि बिरामी थिए। उनलाई सुरूमा डेंगी संक्रमण भएको थियो। पछि उनलाई निमोनियासमेत भएको थियो।

उनलाई काठमाडौंको ह्याम्स अस्पतालमा केही दिन उपचार गराएर पुन: विराटनगर नै लगिएको थियो। थापा २०७४ सालमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य भएका थिए। थापाका श्रीमती, एक छोरी र एक छोरा छन्। थापाले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा केही वर्ष स्वकीय सचिवसमेत भएर काम गरेका थिए।

बुधबार २३ कात्तिक २०७९ ०७:२४ PM मा प्रकाशित

प्रतिक्रिया