×

लिम्पियाधुरा लिपुलेक समेटेर बनाएको नक्सा ओलीले बाध्य भएर मात्रै बनाएको हो- प्रचण्ड

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् । आज दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीलाई यस्तो चुनौती दिएका हुन। साथै   आफैंले प्रधानमन्त्री बनाए पनि उनले आफैले बनाएको संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको बताए । 

उनले तत्कालीन समयमा ओलीले एकपटक आफूलाई प्रधानमन्त्री बनाइदिनुुस् भनेकाले आफूले सहयोग गरेर दोस्रो पटक प्रधानमन्त्री बनाएको भन्दै पुन प्रधानमन्त्री बनेर देखाउन चुनौती दिए । उनले भने– ‘तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउनुस् ।’ अध्यक्ष प्रचण्डले केपी ओलीले आफूले लिम्पियाधुरा लिपुलेक समेटेर बनाएको नक्सा पनि ओलीले बाध्य भएर मात्रै बनाएको बताए ।  ‘उहाँले नक्साको कुरा गर्नुहुन्छ । केपी ओलीले होइन यो नक्सा बनाएको भ्रममा नपर्नुहोला । नेकपामा मसहित भएर पार्टीको बहुमतले बाध्य बनाएपछि मात्रै बनाएको हो’, प्रचण्डको भनाइ छ । 

प्रचण्डले ओली कायर मान्छे रहेको भन्दै चुनाव आएपछि दार्चुला आएर गोहीको आशु चुहाउने गरेको बताए ।  ‘जब चुनाव आउँछ अनि दार्चुला आएर गोहीको आँसु चुहाउँछन् केपी ओली । त्यो गोहीको आँसु हो, सक्कली होइन’, प्रचण्डको भनाइ छ । ‘संविधान बनाउन सहमत हुनुस् प्रधानमन्त्री दिन्छु भनेर पहिलो पटक ओलीलाई प्रधानमन्त्री दिएको हो। वाम एकतापछि दोस्रो पटक ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाएको हो। अब ओली तेस्रो पटक प्रधानमन्त्री बन्न सम्भव छैन,’ प्रचण्डले भने।

ओलीले चुनावी सभाहरूमा पुगेर एमालेलाई बहुमत दिन आग्रह गरिरहेको प्रसंग निकाल्दै प्रचण्डले ओलीलाई किन चाहियो बहुमत भनेर प्रश्न पनि गरेका थिए। ‘केपी ओलीले बहुमत चाहियो भन्दा मलाई लाज लाग्छ। दुई तिहाइको सरकार ढालेर, त्यत्रो पार्टी नेकपा टुक्राटुक्रा पारेर अनि अहिले किन चाहियो बहुमत?,’ उनले भने, ‘कुन नैतिकताले ओलीले बहुमत चाहियो भनेका छन्? किन चाहियो ओलीलाई बहुमत, संविधान च्यात्न? बचेखुसेको कम्युनिष्टलाई ध्वस्त पार्न?’

ओलीले केही समयअघि दार्चुला पुगेर गुमेको भूमि फिर्ता ल्याउने बताएका थिए। ओलीका उक्त भनाइप्रति टिप्पणी गर्दै प्रचण्डले भने, ‘चुनाव आएपछि ओली राष्ट्रवादको कुरा गर्छन्। सरकारमा गएपछि लम्पसार पर्छन्। ओली कायर छन्।’ नेकपाको बहुमतको निर्णयले बाध्य भएर ओलीले चुच्चे नक्सा ल्याएको बताए । भारतसँग तुरुन्त वार्ता गरेर समस्या समाधान गर्न आफूहरुले पहल गर्दा समेत बोल्न हिम्मत नगर्ने कायर भएको टिप्पणी गरे ।

बुधबार २३ कात्तिक २०७९ ०२:५७ PM मा प्रकाशित

प्रतिक्रिया