काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको २४ भदौलाई नेपालको इतिहासकै एउटा 'काहालीलाग्दो विध्वंस' भएको दिनको रूपमा स्मरण गरेका छन्।
'जेनजी' (Gen-Z) आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा आज एक विशेष भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले उक्त दिन राज्यका आधारस्तम्भ र लोकतन्त्रका धरोहरमाथि सर्वाधिक ठूलो आक्रमण भएको बताएका हुन्।
अध्यक्ष ओलीले जारी गरेको भिडियो सन्देशमा गत वर्ष भदौ २३ र २४ गते भएको 'जेनजी' आन्दोलन र त्यसपछि घटेका दुःखद घटनाक्रमहरूको गम्भीर समीक्षा गरिएको छ। २४ भदौमा राजधानीका सरकारी र निजी सम्पत्तिमाथि भएको व्यापक तोडफोड, लुटपाट र आगजनीलाई उनले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथिको प्रहारका रूपमा चित्रण गरेका छन्।
दुःखद दिनको एक वर्ष पूरा भएको सन्दर्भमा एमाले अध्यक्ष ओलीले सबैभन्दा पहिले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गरेका छन्। उनले भनेका छन्, "गत वर्ष भど २३ गतेको प्रदर्शनपछिको घटनाक्रममा जीवन गुमाउनुहुने नवयुवाहरू र कर्तव्यपालनका क्रममा आपराधिक तत्वहरूको आक्रमणमा मारिनुभएका प्रहरी जवानहरूप्रति नेकपा एमाले र मेरो व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।" यसका साथै उनले अझै पनि उपचारका क्रममा रहेका घाइतेहरूको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै विध्वंसपछि पुनरुत्थानको प्रयासमा रहेका व्यवसायीहरूमा शुभेच्छा व्यक्त गरे।
लोकतन्त्रमा नागरिकले आफ्ना अपेक्षा, असन्तुष्टि र मागहरू शान्तिपूर्ण रूपमा राख्नु स्वाभाविक भएको र नेपालको संविधानले वाक स्वतन्त्रता र शान्तिपूर्ण विरोधको अधिकार सुनिश्चित गरेको अध्यक्ष ओलीले स्पष्ट पारे। "तर गत वर्ष नवयुवाहरूले सुशासन र सामाजिक सञ्जालका विषयमा गरेको शान्तिपूर्ण प्रदर्शनभित्र घुसपैठ गरी आपराधिक समूहहरूले योजनाबद्ध रूपमा हिंसा भड्काए," ओलीले भने, "संसद् भवनमा आक्रमण गर्दै दुरुत्साहन गरे। नवयुवाहरूलाई षडयन्त्रपूर्वक घेरेर संसद् भवन अगाडि लगियो र छद्म ढङ्गले कसैले गोली चलायो।" सोही षडयन्त्रका कारण १७ जना नवयुवाको अमूल्य जीवन त्यहीँ अन्त्य भएको उनले दुःखद स्मरण गरे।
शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर देशलाई दुर्घटनामा धकेल्ने तत्वहरूको उद्देश्य बिल्कुलै बेग्लै रहेको ओलीको ठहर छ। भोलिपल्ट अर्थात् २४ भदौमा राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरवार, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न पार्टी कार्यालयहरू र निजी तथा सार्वजनिक सम्पत्तिमाथि जुन स्तरको तोडफोड, लुटपाट र मानवीय क्षति गरियो, त्यो अघिल्लो दिनको मानवीय क्षतिको आवेग मात्र नभएर राज्य प्रणाली नै भत्काउने सुनियोजित प्रपञ्च भएको अध्यक्ष ओलीले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
प्रतिक्रिया