×

बिएन्डबी अस्पताल डिम्ब प्रकरण: डा. नूतन शर्मासँग बयान लिएर हाजिर जमानीमा छाडियो, अनुसन्धान जारी

images

काठमाडौँ । १७ वर्षीया नाबालिग किशोरीको गैरकानुनी रूपमा डिम्ब (अण्डा) निकालिएको घटनामा संलग्न रहेको आरोप लागेकी वरिष्ठ स्त्रीरोग तथा आइभीएफ (IVF) विशेषज्ञ डा. नूतन शर्मासँग प्रहरीले बयान लिएको छ । जिल्ला प्रहरी परिसर ललितपुर र सरकारी वकिलको कार्यालयले डा. शर्मासँग विस्तृत बयान लिएपछि उनलाई हाजिर जमानीमा रिहा गरिएको छ ।

प्रहरीले डा. शर्मालाई पक्राउ गर्न अदालतसँग दुई पटक अनुमति मागे पनि अनुमति नमिलेपछि, उनी आफैँ निवेदन दिएर अनुसन्धानका लागि प्रहरी कहाँ उपस्थित भएकी थिइन् ।

प्रहरी स्रोतका अनुसार बयानका क्रममा डा. शर्माले आफूमाथि लगाइएका सबै आरोपहरू अस्वीकार गरेकी छन् । उनले आफूले प्रचलित चिकित्सा प्रक्रिया र कानुन विपरीतको कुनै कार्य नगरेको दाबी गरेकी छन् ।

 डा. शर्माले अस्पतालको रेकर्डमा सेवाग्राहीको उमेर २१ वर्ष उल्लेख भएको नागरिकताको कागजात रहेको बयान दिएकी छन् । उनले भनिन्, "हामीलाई उपलब्ध गराइएको कागजातमा उमेर पुगेको (२१ वर्ष) उल्लेख छ, त्यही आधारमा उपचार गरिएको हो । बिरामी नाबालिग रहेको मलाई जानकारी थिएन ।" बिचौलियासँग पैसा लेनदेन भएको विषयमा प्रष्ट पार्दै डा. शर्मा पक्षले आइभीएफ प्रक्रियामा दातालाई दिइने यातायात, पौष्टिक आहार र औषधोपचार खर्चबापत पारदर्शी रूपमा बैंकिङ च्यानलबाटै रकम पठाइएको जिकिर गरेको छ ।

के हो घटना ?

गत असार १४ गते ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आइभीएफ सेन्टरमा ती किशोरीको डिम्ब निकालिएको थियो । लमजुङ घर भई इमाडोलमा ब्युटिसियनको काम गर्ने राधिका गोतामेले ती किशोरीलाई ३० हजार रुपैयाँको आर्थिक प्रलोभनमा पारेर त्यहाँ पुर्‍याएको अनुसन्धानबाट खुलेको छ ।

डिम्ब निकालेपछि किशोरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मात्र परिवारले घटनाबारे थाहा पाएका थिए र साउन १ गते प्रहरीमा जाहेरी दिएका थिए । यस प्रकरणमा बिचौलियाको भूमिकामा रहेकी राधिका गोतामेलाई पनि प्रहरीले यसअघि नै नियन्त्रणमा लिएर बयान लिई हाजिर जमानीमा छाडिसकेको छ ।

ललितपुर प्रहरीका अनुसार दुवै आरोपीहरू हाजिर जमानीमा छुटे पनि मानव बेचबिखन तथा ओसारपसार (अंग बेचबिखन) सम्बन्धी कसुरमा अस्पतालका कागजात र डिजिटल प्रमाणहरूको आधारमा थप अनुसन्धान तीव्र रूपमा जारी रहनेछ ।

 

आइतबार​ २४ साउन २०८३ ०८:०६ PM मा प्रकाशित

प्रतिक्रिया