×

सहकारी ठगी प्रकरण- संसदीय छानबिन समिति गठन नगरे, कांग्रेसले संसद चल्न नदिने

images

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ । साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ ।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन हुनुपर्ने नेपाली कांग्रेसको मागलाई संसदीय दलले उचित छ भन्ने ठहर गरेको जानकारी दिए ।

बैठकपछि उनले भने, ‘उपप्रधानमन्त्री एवम् गृहमन्त्री माननीय रवि लामिछाने जी सहकारीको रकम अपचलन गर्ने काममा संलग्न भएको कुरालाई हामीले उठाइरहेका छौं । त्यसको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानका निमित्त संसदीय समिति गठन गर्ने माग हामीले गरिराखेका छौं ।

आजको संसदीय दलले नेपाली कांग्रेसले उठाउँदै आएको काम उचित छ भन्ने ठहर गरेको छ, सर्वसम्मतीले ।’त्यससँगै आजको बैठकले तत्काल नेपाली कांग्रेसको माग बमोजिम संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णयसमेत गरेको उनले बताए ।  लेखकले भने, ‘कांग्रेस संसद अवरोध गर्न चाहँदैन, तर नेपाली कांग्रेसको माग प्रति सरकार गैरजिम्मेवार भयो भने संसद अवरुद्ध भयो भने सरकारले लिनुपर्छ ।’

मङ्गलबार २७ चैत २०८० ११:३० AM मा प्रकाशित

प्रतिक्रिया