×

मकैमा दाना नलागेको क्षेत्रको अनुगमन

images

बरहथवा (सर्लाही), २७ चैतः वर्णशङ्कर जातको मकैमा दाना नलागेको विषयमा गठित समितिले प्रभावित क्षेत्रको अनुगमन गरेको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा भीमनाथ अधिकारी संयोजकत्वको सात सदस्यीय कार्यदलले आज जिल्लाको बागमती र बरहथवा नगर अन्तर्गतका प्रभावित क्षेत्रको अनुगमन गरेको हो । टोली सोमबार साँझ बागमती आइपुगेको थियो । टोलीले आज बिहानैबाट बरहथवा र बागमती क्षेत्रका किसानको खेतमै पुगेर निरीक्षण गरेको हो ।

किसानसँग प्रत्यक्ष भेटी मकैखेतीबारेमा जानकारी लिने काम गरिएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार प्रारम्भिक जानकारीअनुसार मौसम प्रतिकुल हुँदा मकैको फूल र घोगामा हुनुपर्ने परागसेचन प्रक्रिया पूरा नहुँदा दाना नलागेको पाइएको छ । यस विषयमा थप परीक्षणलगायतका विधिबाट समस्या पत्ता लगाइने उहाँले जानकारी दिनुभयो । निरीक्षणका क्रममा कात्तिकदेखि मङ्सिर पहिलो हप्तासम्म लगाइएको वर्णशङ्कर जातका मकैमा दाना नलाग्ने समस्या देखिएको बीउविजन गुणस्तर नियन्त्रण केन्द्रका डा प्रकाश आचार्यले बताउनुभयो । उहाँका अनुसार यस अवधिमा लगाइएका मकैमा १० देखि ३० प्रतिशतसम्म क्षति पुगेको छ । अनुगमनका क्रममा किसानले आफ्नो समस्या टोली समक्ष राखेका छन् । सर्लाहीको बागमती, बरहथवालगायत क्षेत्रका किसानले उन्नत जातको मकैमा दाना नलागेको गुनासो गरेका थिए ।

किसानको गुनासोपछि बीउविजन गुणस्तर नियन्त्रण केन्द्रले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गरेको थियो । डा अधिकारी संयोजक रहेको कार्यदलको सदस्यमा मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका वैज्ञानिक डा महेन्द्रप्रसाद त्रिपाठी, राष्ट्रियबाली प्रजनन केन्द्र खुमलटारका डा उज्जवलकुमार सिंह कुशहवा, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका बाली विकास अधिकृत नवराज जोशी, मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि, कृषि ज्ञान केन्द्रका प्रतिनिधि रहेका छन् । त्यस्तै बीउविजन गुणस्तर नियन्त्रण केन्द्रका डा प्रकाश आचार्य सदस्य सचिव रहनुभएको छ । कार्यदललाई प्रभावित क्षेत्रमा निरीक्षण एवम् छलफल गर्ने, मकैको जात, क्षेत्रफल, प्रभावित किसानको विवरण, बीउबिक्रेता तथा आयातकर्ताको विवरण सङ्कलन गर्ने, प्राविधिक राय पेस गर्ने, बीउको जातीय शुद्धता पहिचान गर्ने जिम्मेवारी दिइएको छ । अनुगमनका उन्नत जातका अधिकांश मकैमा समस्यादेखिको कार्यदलले जनाएको हो । सर्लाहीमा मात्र विभिन्न जातको ५० मेट्रिक टन उन्नत जातको बीउ वितरण भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । यसबाट कम्तीमा दुई हजार हेक्टर मकै खेतीमा क्षति भएको हुनसक्ने केन्द्रका प्रमुख देवानन्द यादवले जानकारी दिनुभयो ।

मङ्गलबार २७ चैत २०८० ०३:१८ PM मा प्रकाशित

प्रतिक्रिया