×

कांग्रेस पदाधिकारी र सभापति देउवाबीच छलफल हुँदै

images

नेपाली कांग्रेसका पदाधिकारी र सभापति शेरबहादुर देउवाबीच भेट हुने भएको छ । मंगलबार बसेको पदाधिकारीको अनौपचारिक बैठकको निर्णयअनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठकको पूर्वसन्ध्यामा पार्टीका एजेन्डाबारे छलफल हुन लागेको हो।  

सहमहामन्त्री बद्री पाण्डेका अनुसार बैठकका एजेन्डाबारे थप छलफलका लागि सभापति देउवालाई भेटेर छलफल गर्न लागिएको हो। उनका अनुसार साढे २ बजे प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवासँग प्रधानमन्त्रीनिवास बालुबाटारमा छलफल हुन लागेको हो। ‘माघ २७ मा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकका एजेन्डाबारे पदाधिकारीबीच मंगलबार छलफल भयो,’ उनले भने, ‘सभापतिसँग एजेन्डालगायत धेरै विषयमा छलफल हुनेछ। साढे २ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल हुन लागेको हो।पदाधिकारी बैठक बस्न लागेको होइन। सभापतिसँगको छलफल मात्रै हो।’

मंगलबार सभापति देउवा व्यस्तताका कारण देखाउँदै बैठकमा उपस्थित भएका थिएनन्। उनीबाहेकका पदाधिकारीको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको थियो। देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले पदाधिकारीहरूसँगै कार्यसम्पादन समितिको बैठकका विषयमा अनौपचारिक छलफल गरेका थिए। 

कार्यसम्पादन समिति बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विषय र १६ जिल्लाका अधिवेशन गरी दुई  एजेन्डा रहेका छन्। मंगलबारको बैठकमा सभापति देउवा, सहमहामन्त्रीद्वय महेन्द्र यादव र महालक्ष्मी उपाध्याय  ‘डिना’बाहेकका पदाधिकारीको उपस्थिति रहेको थियो। 

सहमहामन्त्री फरमुल्लाह मन्सुरले पनि सभापति देउवासँग प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल हुन लागेको बताए। ‘कार्यसम्पादन समितिको बैठकका एजेन्डाबारे मंगलबार पदाधिबारीबीच छलफल भइसकेको छ । पार्टीका विविध विषयमा भेटेर छलफल गर्न लागिएको हो। पदाधिकारी बैठक बस्न लागेको होइन,’  उनले भने।

बुधबार २६ माघ २०७८ ०१:४१ PM मा प्रकाशित

प्रतिक्रिया