हृदयश त्रिपाठी नेतृत्वको ‘जनता प्रगतिशील पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि निवेदन दिने तयारी भइरहेको सो पार्टीका नेता राधेरमण पाण्डेले बताए । ‘निवेदन दर्ता गराउनका लागि डकुमेन्टहरू तयार गर्ने काम भइरहेको छ, तयारी पूरा भयो भने बिहीबार आयोग जान्छौँ’, उनको भनाइ छ ।
हाललाई त्रिपाठी अध्यक्ष र बाँकी सदस्य रहने गरी निर्वाचन आयोगमा निवेदन दर्ता हुने बताइएको छ । जनता प्रगतिशिल पार्टीमा २१ सदस्यीय केन्द्रीय कार्य समिति रहने बताइएको छ । यसैबीच त्रिपाठीलगायतका केही नेताहरुले स्थानीय तहको नामांकन र सीमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस कार्यान्वयन गर्न गराउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन् । अध्यक्ष त्रिपाठीसहितका नेताहरुले मंगलबार निर्वाचन आयोग पुगेर स्थानीय तहको नामांकन र सीमांकन बारे भएको निर्णय कार्यान्वयन गराउन माग गरेका हुन् ।
निर्वाचन आयोग पुगेका नवलपरासीका प्रतिनिधिसभा सांसद वृजेश गुप्ताले स्थानीय तहको नामांकन र सीमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस मधेश प्रदेशमा मात्र भएको र त्यसलाई अब प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिममा समेत कार्यान्वयन गर्नुपर्ने बताए ।
स्थानीय तहको चुनावअघि नै आयोगको सिफारिश अनुसार प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन हुनुपर्ने भनि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई ध्यानाकर्षण गराएको उनले बताए । त्यसको जवाफमा प्रमुख आयुक्त थपलियाले सरकारले पत्र पठाउने वित्तिकै आफूहरुले त्यसलाई कार्यान्वयनमा ल्याउने बताएको उनले बताए ।
प्रतिक्रिया