×

घट्यो हवाई भाडा

images

काठमाडौं । एयरलाइन्स कम्पनीहरूको संस्था वायु सेवा सञ्चालक संघले आन्तरिक तर्फको हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले आन्तरिक तर्फको हवाई इन्धनको मूल्य २० रुपैयाँ घटाएसँगै कम्पनीहरूले मूल्य समायोजन गरेका हुन् । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ ।

यसअघि, हवाई इन्धनको मूल्य बढी भएको भन्दै वायु सेवा कम्पनीहरूले हवाई भाडा समेत महँगो राखेका थिए । तर, चर्को विरोध भएसँगै निगमले आजदेखि लागू हुने गरेर हवाई इन्धनको मूल्य समायोजन गरेको थियो । यससँगै, आन्तरिकतर्फका सबै प्रकारका हवाई भाडा समायोजन भएको संघले जनाएको छ ।

यससँगै, यसअघि प्रतिलिटर १९० रुपैयाँ रहेको हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ । हवाई इन्धनको मूल्य घटेसँगै नियमित र चार्टडतर्फको हवाई मूल्य घटेको संघले जनाएको छ । यसमध्ये काठमाडौँ–धनगढीको मूल्य सबैभन्दा धेरै घटेको छ । यस्तै, काठमाडौँ–नेपालगन्जको भाडा ६५५ रुपैयाँ घटेको छ भने काठमाडौँ–भद्रपुरको भाडा ६०० रुपैयाँले घटेको छ । यसैगरी, काठमाडौँ–सुर्खेतको भाडा ६९० रुपैयाँले घटेको छ । यो भाडादर २७ पुसबाट लागु हुनेछ ।

सोमबार २५ पुस २०७९ ०१:४७ PM मा प्रकाशित

प्रतिक्रिया