×

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको आरोप

images

काठमाडौँ, २२ मङ्सिर : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री प्रकरणमा राज्यलाई प्रत्यक्ष हानी पुग्नेगरी आर्थिक लेनदेन भएको हुनसक्ने बताउनुभएको छ । 

पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाले आज आयोजना गरेको प्रशिक्षणमा पूर्वमन्त्री पुनले एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाउनुभयो । 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाउनुभएको उल्लेख गर्दै नेता पुनले तथ्य र प्रमाणका आधारमा राज्य ठगी गर्ने काममा संलग्न जोकसैलाई पनि कारबाही हुने बताउनुभयो । 

“सञ्चार माध्यममार्फत एनसेल प्रकरण सार्वजनिक हुँदा प्रधानमन्त्री कोप–२८ को सिलसिलामा देशबाहिर हुनुहुन्थ्यो । उहाँ आउने वित्तिकै सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठक बोलाएर छानबिन गर्नका लागि सहमत गराउनुभयो”, उहाँले थप्नुभयो, “भोलिपल्टै मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति बनाएर छानबिन अघि बढाएको छ, राज्यविरुद्धको अपराध र ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन ।”

सिङ्गो पार्टी र जनता माफियाकरण विरुद्धको अभियानमा साथमा रहेको बताउँदै उपमहासचिव पुनले बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र मिटरब्याजीविरुद्धको अभियानमा जनताले सरकारलाई साथ दिएको बताउनुभयो । 

नेता पुनले सरकार केही ठूला भ्रष्टाचार प्रकरणका फाइल खोल्ने तयारीमा रहेको जानकारी दिँदै सुशासनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी विकास निर्माणका कामलाई तीव्र गतिमा बढाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

शुक्रबार​ २२ मंसिर २०८० ०९:०९ PM मा प्रकाशित

प्रतिक्रिया