×

परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीबीचमा ४ मंसिरमा संग्राम- प्रचण्ड

images

जुम्ला। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ मंसिरमा हुने निर्वाचन निर्वाचन मात्रै नभएर दुई विचार र सिद्धान्तकाे प्रतिस्पर्धा भएको बताएका छन्। जुम्लामा आयाेजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धन संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रकाे पक्षमा खडा भएको बताए।

आगामी निर्वाचन संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसकाे विपक्षमा रहेकाबीच हुने उनले बताए। उनले भने, ‘दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदै छ ।’ अध्यक्ष दाहालले परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीबीचमा ४ मंसिरमा संग्राम हुने बताए।

उनले प्रत्येक निर्वाचन कुनै न कुनै राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेश गर्दै यस पटक अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्ने बारेमा केन्द्रित भएको दाबी गरे। नेपालमा शान्ति प्रक्रिया सुरू गरेको र १२ बुँदे समझदारीका सहयात्री कांग्रेस नै भएको र अहिले  आफूहरू एकै ठाउँमा भएकाले निर्वाचन जित्ने उनले बताए । नेपाली जनताले प्राप्त गरेको अधिकारलाई थप स्थापित गर्न र आर्थिक समृद्धिको चाहना पूरा गर्न पनि केन्द्रित रहेको उनको भनाइ छ।

उनले तत्कालिन एमालेको नेतृत्वमा माधवकुमार नेपाल नै भएकाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको जानकारी दिए । अध्यक्ष दाहालले भने, ‘परिवर्तन, प्रगति, स्थिरता चाहने शक्ति एक ठाउँमा उभिएको र अर्कोतर्फ निरंकुशता र सामन्तवादतर्फ लैजान चाहने शक्ति उभिएका छौं। यो स्वाभाविक र प्राकृतिक छ।’यस्तै प्रचण्डले  एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन परिवर्तन विरोधी गठबन्धन भएको आरोप लगाए । साथै प्रचण्डले केपी ओलीले यथाअवस्थामा भोट माग्ने कुनै अधिकार नभएको बताए । उनले भने,‘ जनताले सोध्नुपर्छ संसद विघटन गर्नलाई भोट दिने ?’ 

प्रचण्डले निर्वाचनपछि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने र बजेटमा कर्णालीलाई पहिलो प्राथमिकतामा राखिने प्रतिबद्धता जनाए । उनले कर्णाली करिडोर लगायतका सडक सञ्जालको स्तरोन्नती गर्ने कुरामा आफू प्रतिबद्ध रहेको पनि बताए । साथै उनले कालिकोटबाट महेन्द्रबहादुर शाहीलाई जिताएको खण्डमा केन्द्रमा मन्त्री बनाइने बताए । अध्यक्ष प्रचण्डले यसअघि जुम्ला र कालिकोटकै रास्कोटका आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । 

मङ्गलबार २२ कात्तिक २०७९ ०५:३८ PM मा प्रकाशित

प्रतिक्रिया