काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बसेको केन्द्रीय समितिको बैठकले विदेशमा रहेका नेपाली नागरिकहरुका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरुको गम्भीर ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । त्यस्तै पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियानलाई देशव्यापी रुपमा प्रभावकारी बनाउन केन्द्रीय समितिको तर्फबाट संगठन निर्माणका हरेक गतिविधि सँगसँगै प्रभावकारी बनाइने समेत निर्णय गरेको छ ।
२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ बाट सञ्चालित हस्ताक्षर अभियान अन्तर्गत हालसम्म ३२ लाख हस्ताक्षर संकलन भएको जानकारी दिएको छ । रास्वपाका प्रवक्ता मनिष झाले अहिलेसम्म कुल ३२ लाख ६ हजार ६०८ हस्ताक्षर संकलन भएको जानकारी दिएका हुन् । त्यस्तै रास्वपाले अहिलेसम्म यस अभियानमा ६२ लाख १६ हजार ६६९ आर्थिक सहयोग संकलन भएको प्रवक्ता झाले जानकारी दिएका छन् । रास्वपाले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै जनताको हस्ताक्षर अभियान चलाइरहेको छ ।
३- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन् । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट मुख्यमन्त्री बनेका बानियाँले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन लागेका हुन् । बानियाँ साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । बागमती प्रदेश सभाको बैठक साउन २७ गते अपरान्ह ४ बजे बस्दैछ । ११० सदस्यीय बागमती प्रदेशमा कांग्रेसका ३७ र एमालेका २७ गरि ६४ सांसद रहेका छन्, जुन बहुमतभन्दा बढी छ ।
४- नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५ मा दुई प्रतिष्ठित उपाधि प्राप्त गरेको छ । बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ प्राप्त गरेको हो । नबिल बैंकले अपनाएको अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा र ग्राहक तथा सरोकारवालाप्रति देखाएको प्रतिबद्धताका कारण उक्त अवार्ड प्राप्त गरेको जनाएको छ । साइबर सेक्युरिटी इनोभेसन अवार्ड बैंकले डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव प्रदान गर्न अपनाएको रणनीतिका कारण प्राप्त गरेको हो । यसैगरी, बैंकले मुलुकका महत्वपूर्ण पूर्वाधार तथा विकास आयोजनाहरूमा वित्तीय साझेदारी गरेका कारण नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर अवार्ड प्राप्त गरेको हो ।
५- गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण गरेका छन् । सो अवसरमा गृहमन्त्री लेखकले उक्त परिचालन कक्ष सम्बन्धी गतिविधिबारे जानकारी समेत लिएका थिए । निरीक्षण पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौं उपत्यका प्रहरी कार्यालय एवम् मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए ।
६- त्रिशुली नदीले सडक कटान गरेपछि गल्छि-मैलुङ स्याफ्रु सडक खण्ड पुर्ण रुपमा बन्द भएको छ । रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ गल्छि त्रिशुलीदेखि मैलुङ स्याफ्रुतर्फ जाने सडकखण्डमा त्रिशुली नदीमा आएको बाढीले ६ मिटर चौडाई र १५ मिटर लम्बाई सडक बाटो कटान गरि अवरुद्ध भएकोमा शुक्रबार बिहान बाकी रहेको सडक त्रिशुली नदीले पुनः कटान गरि चर्किएको कारण सो सडक पुर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।
७- नेपालले एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत साउदी अरेबियालाई पराजित गरेको छ । नेपालले साउदी अरेबियालाई १-० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा खेलको ९०औं मिनेटमा सुक्रिया मियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि नेपालको समुह ए मा ४ अंक भएको छ । यस खेलमा नेपालले खेलको ३७औं मिनेटमा पाएको पेनाल्टीलाई मीना देउवाले गोल गर्न नसकेपछि साउदी अरेबियाविरुद्ध शुरुवाती अग्रता लिने अवसर गुमाएको थियो । नेपालले यो खेलपछि अगस्ट १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ ।
८- पाकिस्तानको क्वेटासहित सम्पूर्ण बलुचिस्तानमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ । पाकिस्तानी मिडियाका अनुसार सुरक्षा कारण देखाउदै सम्पूर्ण प्रान्तमा मोबाइल इन्टरनेट सेवा निलम्बन गरिएको छ । मिडिया रिपोर्टका अनुसार आतंकवादी घटनाको डरका कारण अगस्ट ३१ सम्म सम्पूर्ण बलुचिस्तानमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ ।
९- ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साहस उर्जा मुख्य साझेदार रहेको टाइम्स इनर्जीले निर्माण गर्न लागेको यस आयोजनाका लागि १० वटा बैंकले लगानी गर्ने असहमति पत्रमा हस्ताक्षर भएको हो । अनुमानित ७० अर्बको परियोजना लागतमध्ये १० अग्रणी वाणिज्य बैंकको समुहले ५२ अर्ब ५० करोड अर्थात ७५ प्रतिशत लगानी गर्ने भएका छन् । सम्झौतापत्रमा टाइम्स इनर्जीका सुशील थापा र बैंकहरुको नेतृत्व गरेको नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका हुन् । यस परियोजनामा एनआईएमबीले १० अर्ब, नबिल बैंकले आठ अर्ब, लक्ष्मी सनराइज बैंकले आठ अर्ब र ग्लोबल आइएमई बैंकले सात अर्ब ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको जानकारी दिइएको छ ।
१०- सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साहविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख साहले वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रमका एक लाख घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको छ । नगर प्रमुख साह एक लाख घुस रकमसहित पक्राउ परेका थिए ।
११- दिल्लीस्थित नेपाली दुताबासले भारतको उत्तराखण्डको धरालीमा आएको बाढीमा जिवित उद्धार गरिएका तथा मृतकको सूचिमा कुनै पनि नेपाली नागरिक नरहेको बताएको छ । दुताबासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरीले राजदूतावासलाई उपलब्ध गराएको जानकारी अनुसार हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट २ जनाको शव प्राप्त भएको जानकारी दिएको तर जिवित उद्धार गरिएका तथा मृतकको सूचिमा कुनै पनि नेपाली नागरिक नरहेको बताएको उल्लेख गरिएको छ । दुताबासले भनेको छ- 'गत ५ अगष्ट २०२५ मा भारतको उत्तराखण्ड प्रदेश उत्तरकाशी जिल्लाको धरालीमा गएको भिषण बाढी पहिरोका कारण भएको धनजनको क्षतिबारे उत्तराखण्ड प्रहरीले राजदूतावासलाई उपलब्ध गराएको जानकारी अनुसार हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट २ जनाको शव प्राप्त भएको छ । जिवित उद्धार गरिएका तथा मृतकको सूचिमा कुनै पनि नेपाली नागरिक नरहेको समेत राजदूतावासलाई जानकारी गराइएको छ ।' त्यसैगरी दुताबासले उत्तराखण्ड प्रदेश पौडी गढवाल जिल्लाको बागोडामा ६ अगष्टमा गएको बाढी पहिरोपश्चात् ५ जना नेपालीहरू हराइरहेको उल्लेख गर्दै घाइते भएका ४ जना नेपालीहरूमध्ये उपचारपछि ३ जना घर फर्केको र १ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको उल्लेख गरेको छ ।
१२- अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न सहयोग गर्ने जानकारी दिने पुरस्कारलाई दोब्बर गरी ५ करोड डलर पुर्याएको छ । यस अघि यो साढे २ करोड डलर रहेको थियो । अमेरिकी प्रशासनले मादुरोलाई 'विश्वको सबैभन्दा ठूलो लागूपदार्थ तस्करहरू मध्ये एक' भएको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहँदै आएका छन् । जनवरीमा भएको विवादास्पद चुनावपछि मादुरो सत्तामा फर्किए जुन अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गरेको थियो ।
१३- आजदेखि दुई फिल्म ‘मोहर’ र ‘सिटामोल’ प्रदर्शनमा आएका छन् । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको ‘मोहर’मा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा, मिथिला शर्मा, पवित्रा साकी (मिस पबी) लगायतको अभिनय छ । यो फिल्म देउकी कुप्रथाको कथालाई केन्द्रमा राखेर बनाइएको ट्रेलरबाट बुझ्न सकिन्छ । त्यस्तै, राज बहादुर साने निर्देशित ‘सिटामोल’मा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, पवन भट्टराई, काजल भुजेल लगायतको अभिनय रहेको छ । फिल्म ‘जन्ते बाख्रो’का निर्देशक सिमोस सुनुवार प्रस्तुतकर्ता रहेको फिल्ममा राज बहादुर साने र प्रदीप भारद्वाजको लेखन छ ।
१४- नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको एक हजारले बढेर तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुनको मुल्य तोलाको एक लाख ९८ हजार ४ सयमा कारोबार भएको थियो । सुनको मुल्य यस अघि साउन २० गते तोलामा एक लाख ९८ हजार ५ सयमा कारोबार भएर अहिलेसम्मकै उच्च मुल्य कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २३२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २३१५ मा कारोबार भएको थियो ।
१५- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बह्र्त्को उत्तराखण्डमा आएको बाढीमा बेपत्ता भएका नेपालीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको जानकारी दिएकी छन् । मन्त्री डा. राणाले खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको बताउदै नयाँ दिल्लीस्थित नेपाली राजदूताबासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारूकताका साथ लाग्न निर्देशन दिएको बताएकी छन् । गत मंगलबार उत्तराखण्डको बाढीमा जाजरकोट, जुम्ला र धादिङका गरि १७ भन्दा बढी बेपत्ता भएको भन्दै स्थानीय तहहरुले उद्धारका लागि केन्द्र सरकारलाई अनुरोध गरेका छन् ।
१६- इजरायलले गाजाको नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ । शुक्रबार बसेको इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजाको नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको हो । मन्त्रिपरिषद्ले यसलाई बहुमतले पारित गरेको इजरायली मिडियाहरुले उल्लेख गरेका छन् । यस योजना अनुसार इजराली सेनाले युद्ध क्षेत्र बाहिरका नागरिकहरूलाई मानवीय सहायता प्रदान गर्दै गाजाको नियन्त्रण लिन तयारी गर्ने बताइएको छ । इजरायलले प्रमुख रुपमा हमासको निशस्त्रीकरण, सबै बन्धकहरूको फिर्ता, गाजाको निशस्त्रीकरण, गाजामा इजरायलको सुरक्षा नियन्त्रण हमास र प्यालेस्टिनी प्राधिकरण-मुक्त वैकल्पिक नागरिक सरकारलाई प्राथमिकता दिएर आगामी कारवाही गर्ने बताएको छ । यस अघि प्रधानमन्त्री नेतान्याहूले एक अन्तर्वार्तामा गाजामा नियन्त्रण चाहेको बताउदै गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहेको बताएका थिए ।
१७- प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्किने क्रममा दुबई प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री ले बिदाइ गरेका थिए । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११:५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।
१८- नेपाल महिला फुटबल टिमले फिफा वरीयता सुधार छलाङ मरेको छ । नेपाली महिला टिमले १३ स्थानको सुधार गर्दै १००औं स्थानबाट ८७औं स्थानमा उक्लिएर छलाङ मारेको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सर्वाजनिक गरेको वरीयतामा १३ स्थान सुधार गर्दै नेपाली महिला फुटबल टिमले हालसम्म फिफाको उत्कृष्ट वरीयतामा प्राप्त गरेको हो । यसअघि नेपाल ९९औं स्थानसम्म पुगेको थियो ।
१९- बेलायतका प्रधानमन्त्री केयर स्टारमरले इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजाको नियन्त्रण लिने निर्णय गलत भएको बताएका छन् । स्टारमरले इजरायलको निर्णयलाई गलत भन्दै यसलाई पुनर्विचार गर्न अपील गरेका छन् । स्टारमरले भनेका छन्- 'इजरायली सरकारको गाजामा आक्रमण बढाउने निर्णय गलत छ । हामी उनीहरूलाई तुरुन्तै पुनर्विचार गर्न अपील गर्दछौं । गाजामा मानवीय संकट दिन प्रतिदिन बढ्दै गइरहेको छ । हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई भयानक र अमानवीय अवस्थामा राखिएको छ । हामीलाई अब युद्धविरामको आवश्यकता छ ।'
२०- इरानमा इजरायलको लागि जासुसी गरेको र अर्कोलाई इस्लामिक स्टेट समूहसँग सम्बन्ध राखेको आरोपमा फाँसी दिइएको छ । दुवैलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। इरानको सर्वोच्च अदालतको फैसलापछि, बुधबार दुवैलाई फाँसी दिइएको इरानको सरकारी मिडियाले जानकारी दिएको छ । इजरायलको लागि जासुसी गरेको र आईएससँग सम्बन्धित व्यक्तिको पहिचान मेहदी असगरजादेहको रूपमा गरिएको छ । त्यस्तै रुजबेह वादीलाई इजरायली गुप्तचर एजेन्सी मोसादलाई गोप्य जानकारी प्रदान गरेको आरोप लगाइएको थियो, जो आफैं एक आणविक वैज्ञानिक भएको बताइएको छ । त्यस्तै रुजबेह वादीको संवेदनशील इरानी एजेन्सीहरूसँग सम्बन्ध थियो । महत्त्वपूर्ण जानकारीमा पहुँचको कारणले गर्दा उनी मोसादका लागि महत्त्वपूर्ण बने । उनले आर्थिक क्षतिपूर्तिको लागि इजरायलसँग सहकार्य गरेको दाबी गरिएको छ, जुन उनको मृत्युदण्डको कारण बन्यो ।
प्रतिक्रिया