×

पर्वतको सदरमुकाम कुश्माबजारमा ‘स्काई क्याफे’ सञ्चालनमा

images

पर्वत : पर्वतको सदरमुकाम कुश्माबजारमा ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ। कालीगण्डकी नदीमाथि रहेको सो क्याफे ‘द क्लिफ’ नामक बञ्जीजम्प पुलका सञ्चालकले स्थापना गरेका हुन्।

यस प्रकारको क्याफे नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइएको दाबी गरिएको छ।  

कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले उक्त क्याफे सञ्चालनमा ल्याइएको जनाएको छ।

‘द क्लिफ’का सञ्चालक राजु कार्कीका अनुसार ‘स्काई साइक्लिङ’का लागि राखिने तारजस्तै गरेर कालीगण्डकी नदी किनारमा रहेको अग्लो भिरमा तार टाँगिएको छ।

‘क्याफे’ मा बस्नका लागि फलाममा काठका फ्ल्याक जडान गरेर बेञ्च र टेबल निर्माण गरिएको छ।

त्यही टेबललाई घिर्नीका माध्यमबाट तारमा झुन्ड्याइएको छ, घिर्नीकै माध्यमबाट डरलाग्दो तारे भिरका माथि तारमा ‘क्याफे’ विस्तारै हिँडिरहेको हुन्छ।

त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरू गर्ने बेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउँछन्।

‘बन्जीसहितका अन्य साहसिक खेलका लागि पर्वतको द क्लिफ पर्यायवाची भइसकेको छ, हामी सकेसम्मका फरक तर एड्भेन्चर खालका खेल तथा पूर्वाधारको निर्माणमा जुटिरहेका छौं, स्काई क्याफे पनि यही अवधारणामा तयार भएको हो’, कार्कीले भने, ‘तारमा झुन्डिएर हिँडिरहेको क्याफेमा बसेर खाजा खानुको मजा बेग्लै छ।’ 

कालीगण्डकी नदीको सतहबाट २२८ मिटरको उचाइमा रहेको बन्जी बराबरकै उचाइमा ‘स्काई क्याफे’ सञ्चालन गरिएको ‘द क्लिफ’ का अर्का सञ्चालक युवराज जोशीले बताए।

अहिले सुरूआती चरण भएको र प्रचार नगरिएकै अवस्थामा समेत दैनिक औसतमा ५० जनाले ‘स्काई क्याफे’ मा बसेर जुस र कफी लिने गरेको उनको भनाइ छ।

क्याफेका लागि मात्रै झण्डै ९५ लाख रुपैयाँ लगानी गरेको बताउँदै उनले प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँ शुल्क राखिएको जानकारी दिए।

सञ्चालक जोशीका अनुसार कालीगण्डकी नदीमाथि १२० मिटरको लम्बाइका तार राखेर क्याफे सञ्चालन गरिएको छ।

अहिले सुरूआत मात्रै भएका कारण आगामी दिनमा थप साहसिक बनाउनका लागि थप विकल्पका बारेमा छलफल भइरहेको छ। 

कोभिड(१९ को संक्रमण फैलिएका यसअघिका लहरभन्दा अहिलेको लहरमा व्यवसायलाई कम मार परेको छ।

निषेधाज्ञा भए पनि स्मार्ट लकडाउनका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको र बजार पनि पहिलेको जस्तै ठप्प अवस्थामा नरहेका कारण भिडभाड नहुने गरी साहसिक खेलमा आएका पर्यटकले मनोरञ्जन लिन पाएका छन्।

कम्पनीमा प्रशासनिक काम हेर्दै आएका ईश्वर कार्कीका अनुसार सबै खालका साहसिक खेलमा आउनेलाई खोप कार्ड अनिवार्य गरिएको छ।

पालो बाँडेर थोरै(थोरै संख्यामा मात्र पर्यटकलाई भित्रिन दिएर सञ्चालनमा राखिएको छ। त्यसकारण पर्यटकीय क्षेत्रले संक्रमणका अघिल्ला चरणमा जस्तो बन्द नै गरेर बस्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

 ‘अघिल्ला चरणमा त बन्द नै गरेर बस्नुपरेको थियो, अहिले भने स्मार्ट लकडाउनका कारण त्यति बेलाका जस्तो मारमा पर्नुपरेको छैन’, उनले भने, ‘हामीले पूर्णरूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेका छौं, ग्राहकलाई पालोअनुसार मात्रै साहसिक खेलमा रमाउन दिएका छौं, जसले राज्य, हामी र पर्यटक सबैलाई फाइदा पुगेको छ।’

कोरोना संक्रमण भए पनि दैनिक बन्जी र स्वीङ गर्नेको पनि उत्तिकै भिडभाड रहेको कम्पनीले जनाएको छ। रासस

मङ्गलबार २५ माघ २०७८ ०५:०२ PM मा प्रकाशित

प्रतिक्रिया