×

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त, शपथग्रहणको कार्यक्रम भोलि

images

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् । नवनियुक्त मुख्यमन्त्री  कार्कीले भोलि सबै दलको प्रतिनिधित्व हुने गरेर सरकार गठन हुने बताएका छन् । 

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री कार्कीको शपथग्रहणको कार्यक्रम भोलि राखिएको छ । मुख्यमन्त्रीले भोलि नै सानो आकारको मन्त्रीमण्डल गठन गर्न प्रयास गरिरहेको बताइएको छ । 

मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वासको मत लिएपछि मात्रै थप प्रक्रिया अघि बढाउने बताए । उनले भने, ‘कति सदस्यीय बन्न भन्ने छैन । हामी सानो आकारको बनाउँछौँ। सकेसम्म सबै दललाई समेट्छौँ ।’

प्रदेशको नामाकरणलाई उच्च प्राथमिकतामा राखेर सबैको सहमतिमा छिटो टुंग्याउने प्रयास गर्ने बताए। उनले सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

उनले मन्त्रालय बढाउनेतिर नभएर घटाउनेतर्फ जोड दिने बताए । प्रदेशमा पनि आलोपालोको निर्णय केन्द्रबाटै हुने भएकाले पार्टीको निर्णयअनुसार अघि बढ्ने बताए । माओवादीले सभामुख पाउनसक्ने भएपनि अहिलेसम्म नटुंगिएको प्रष्ट पारे । 

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नवनियुक्त मुख्य मन्त्री कार्की पहिलो प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए।  ५८ वर्षीय कार्की अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन्।


 

आइतबार​ २४ पुस २०७९ ०८:१५ PM मा प्रकाशित

प्रतिक्रिया