×

तराईका धेरै क्षेत्रमा शीतलहर

images

काठमाडौं। डेढ हप्तादेखि तराईमा शीतलहर चलिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहे पनि पश्चिम र मध्य तराईका केहि भू-भागहरूमा शितलहर चलिरहेको अवस्था छ।

आज दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। राती सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। सोमबार भने  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

जसकारण तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरोसहित शीतलहर छ । पूर्वी र पश्चिमी तराईमा मध्यान्नपछि क्रमिक रुपमा सुधार गएपनि मध्यतराईमा भने दिनभर कुहिरो लाग्ने गरेको छ । तराईका धेरै  भू-भागहरूमा  बाक्लो  हुस्सु लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आइतबार​ २४ पुस २०७९ ०८:०९ AM मा प्रकाशित

प्रतिक्रिया