×

चोलेन्द्रविरुद्धको महाअभियोग निश्क्रिय, आजै सर्वोच्च फर्किने तयारी (पत्र सहित )

images

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ । संसदका महासचिव डा. भरतराज गौतमले उनलाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन् । जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन् ।

यससँगै जबराको निलम्बन हटेको छ । उनी अब सर्वोच्च अदालत फर्किने तयारीमा छन् । यसैबीच जबराले संसदका महासचिवबाट महाअभियोग निश्क्रिय भएको पत्र पाएको पुष्टि गर्दै आजै सर्वोच्च जाने बताए । राणाविरूद्ध गत फागुनमा सत्तारूढ दलका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। 

२०७८ फागुन १ गते राणाविरूद्ध ९८ सांसदले महाअभियोग दर्ता गराएका थिए। फागुन २२ गते प्रतिनिधिसभाले महाअभियोग छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो। फागुन २९ गते प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेस भएको थियो। प्रस्ताव पेस भए पनि लामो समय सभामुख सापकोटाले छलफल रोकेर राखेका थिए। सरकारले निर्वाचन मिति घोषणा गरेपछि बल्ल सभामुख सापकोटाले महाअभियोगमाथि छलफल सुरू गराएका थिए।

राणाविरूद्ध महाअभियोगमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न अक्षम रहेको, सर्वोच्च अदालत लगायत न्यायपालिकाभित्रै उनको कार्यकालमा अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा बिचौलियाहरूले प्रवेश पाएको लगायतका २१ वटा आरोप छन्।

२८ मंसिर २०१४ मा जन्मिएका जबरा अब एक सातापछि ६५ वर्षे उमेर हदका कारण सेवानिवृत्त हुँदैछन् । जबराविरुद्ध दर्ताको भएको महाअभियोग प्रस्तावका प्रस्तावक नै ४ मंसिरसमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । महाभियोग प्रस्तावकमा देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ थिए । तर, उनीहरू अब बस्ने प्रतिनिधिसभामा सहभागी हुने छैनन् । निर्वाचित सांसदहरूले शपथ खाने र संसद् बैठक बस्नुअघि नै एक सातापछि जबराले अनिवार्य अवकाश पाउँदैछन् । 

बुधबार २१ मंसिर २०७९ १२:३८ PM मा प्रकाशित

प्रतिक्रिया