×

केन्द्र र प्रदेशमा समानुपातिकतर्फको सीट बाँडफाँट, ८९ सीटसहित कांग्रेस पहिलाे दल (सूचीसहित)

images

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरूले पाएको अन्तिम सिट संख्या सार्वजनिक गरेको छ। मतगणना सम्पन्न भएसँगै आयोगले थ्रेस होल्ड कटाउने राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सीट संख्या निर्धारण गरेर सार्वजनिक गरेको हो ।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि र प्रदेश सभा समानुपातिकतर्फ सबैभन्दा धेरै सिट नेकपा (एमाले) ले पाएको छ। समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा (माओवादी केन्द्र) ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सीट प्राप्त गर्ने भएका छन् ।

उनीहरुले प्राप्त गर्ने सिट संख्या उल्लेख गर्दै आयोगले थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने ७ वटै दललाई पत्राचार गरेको छ । यस्तै आयोगका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फको सीट संख्या आधारमा प्रतिनिधिसभामा कांग्रेस प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सीटसहित ८९ सीट प्राप्त गर्दै सबैभन्दा ठूलो दल बनेको छ । यस्तै दोस्रोमा नेपाल (एमाले) ले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सीटसहित जम्मा ७८ सीट प्राप्त गरेको छ । कांग्रेसभन्दा एमाले ११ सीट कम छ ।

नेकपा (माओवादी केन्द्र)ले भने प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरेर जम्मा ३२ सीट प्राप्त गरेको छ । पहिलोपटक चुनाव लडेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ ७ सीट र समानुपातिकतर्फ १३ सीट जितेर २० सीटका साथ चौथो दलका रूपमा उदायको छ ।

यस्तै राप्रपाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ गरी १४, जसपाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरेर १२ सीट छ । प्रत्यक्षतर्फ १ सीटमात्रै जितेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ थ्रेस होल्ड कटाएर ५ सीटसहित ६ सीट सुरक्षित गरेको छ । जनमत पार्टीसहित यस पटक राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दलहरू ७ वटा छन् । २०७४ को निर्वाचनमा ५ दलमात्रै राष्ट्रिय दल बन्न सफल भएका थिए ।

प्रत्यक्षको सीट जितेका ६ दलले भने थ्रेसहोल्ड कटाउन सकेनन् । प्रतिनिधि सभा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न प्रदेश सभाहरूमा ९ सिट पाएको छ। यस्तै लोकतान्त्रिक समाजवादी पार्टी ४ सीट, नागरिक उन्मुक्ति पार्टी ३ सीट, राष्ट्रिय जनमोर्चा १ सीट, नेपाल मजदुर किसान पार्टी १ सीटसहित संसदमा सहभागी हुने भएका छन् । ५ जना स्वतन्त्र सांसद पनि यसपटक सदनमा आएका छन् ।

बुधबार २१ मंसिर २०७९ ०६:३५ PM मा प्रकाशित

प्रतिक्रिया