×

सुरक्षा चुनौती सामना गर्न अझै प्रभावकारी कदम चाल्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

images

काठमाडौँ, २१ भदौ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वव्यापी रुपमा बढ्दो नयाँ सुरक्षा चुनौती र खतरालाई अझ प्रभावकारी ढङ्गबाट नियन्त्रण गर्न जरुरी रहेको बताउनुभएको छ । 

 इन्टरपोल स्थापनाको एक सताब्दी पुगेको अवसरमा आज काठमाडौँमा नेपाल प्रहरीले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले साइबर अपराध, आतङ्कवाद र अन्तर्राष्ट्रिय सङ्गठित अपराधजस्ता विश्वव्यापी नयाँ सुरक्षा चुनौती र खतरालाई अझ प्रभावकारी रूपमा नियन्त्रण गर्न जरुरी रहेको बताउनुभयो ।
 

 उहाँले अपराध नियन्त्रणमा देशहरुबीच आपसी समन्वय जरुरी रहेको बताउँदै यस कार्यमा नेपाल प्रहरीले गरेको प्रयासको सराहना व्यक्त गर्नुभयो । एक शताब्दीदेखि इन्टरपोल अन्तर्राष्ट्रिय अपराध र आतङ्कवाद विरुद्धको विश्वव्यापी लडाइमा अमूल्य साझेदार भएको जनाउँदै गृहमन्त्री श्रेष्ठले यसले अन्तर्राष्ट्रिय प्रहरीबीच सहयोग अभिवृद्धि गर्नुका साथै सूचनाको आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्दै आएकामा प्रशंसा गर्नुभयो ।

उक्त कार्यक्रम मनाउँदै गर्दा नेपाल प्रहरीका पुरुषोतम नेपालीले सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो । गृहमन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय प्रहरीको सहयोगलाई सुदृढ पार्ने नेपालको प्रतिबद्धतालाई पुन दोहो¥याउनुभयो । न्याय र सुरक्षाका लागि अन्तर्राष्ट्रिय सहयोगी र साझेदारहरूसँग समन्वय अभिवृद्धि गर्ने सङ्कल्पमा नेपाल सरकार लागिरहेको उहाँले बताउनुभयो ।

आफ्नो सिमानाभित्र शान्ति र सुव्यवस्था कायम राख्नका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाल प्रहरीले इन्टरपोलसँगको सहकार्यमा राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो । उहाँले भन्नुभयो, “विश्वले नै अन्तर्राष्ट्रिय अपराधबाट गम्भीर चुनौतीको सामना गरिरहेको छ, त्यस्ता अपराध नियन्त्रण गर्न सुदृढ साझेदारको खाँचो रहेको छ ।” 

 उक्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध ओसारपसार, मानव बेचबिखन, साइबर अपराध र सीमावर्ती आतङ्कवाद जस्ता मुद्दाहरूलाई सम्बोधन गर्न इन्टरपोलको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । 

उहाँले बढ्दो सिमापार अपराधको चुनौतीका बीच विश्वव्यापी सुरक्षा प्रतिबद्धता र ऐक्यबद्धता महत्वपूर्ण हुने बताउनुभयो । इन्टरपोलको शताब्दी वर्ष समारोहका अबसरमा अन्तर्राष्ट्रिय अपराधविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायबाट पनि प्रतिबद्धता चाहिने महानिरीक्षक कुँवरको भनाइ थियो । “यसका लागि राष्ट्रहरू बीचको सहयोग, सूचना आदानप्रदान र कानुनी ढाँचालाई बलियो बनाउनुपर्ने छ”, उहाँले भन्नुभयो । 

 महानिरीक्षक कुँवरले सुरक्षा खतरालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरीको सहयोग महत्वपूर्ण रहने उल्लेख गर्नुभयो । एक सय वर्षअघि सन् १९२३ मा इन्टरपोलको स्थापना भएको थियो । सन् १९६७ मा विश्वव्यापी संस्थामा आबद्ध हुँदै नेपाल इन्टरपोलको सदस्य बनेको थियो । सोही सन्दर्भमा आज इन्टरपोलको शताब्दी वर्षका अवसरमा नेपालमा पनि विशेष कार्यक्रम आयोजना गरिएको हो । 

बिहीबार २१ भदौ २०८० ०९:२२ PM मा प्रकाशित

प्रतिक्रिया