×

चुनावपछिमात्रै पदाधिकारी छान्ने माओवादीको तयारी

images

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी बैशाख ३० मा हुने स्थानीय चुनावपछि मात्रै पदाधिकारी छान्ने भएको छ । पदाधिकारीबारे सहमति र त्यसको गृहकार्य बाँकी नै रहेकाले पदाधिकारी छनोट स्थानीय चुनावपछि मात्रै हुने नेता देव गुरुङले जानकारी दिए । 

 

नेता शक्ति बस्नेतका अनुसार आजको केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने र नेताहरुको कार्यविभाजन गरेर सक्ने तयारी रहेको बताए ।  शुक्रबार सुरु भएको सो पार्टीको बैठक आइतबारका लागि तय भएपनि स्थगन गरेर नेताहरु सहमतिको प्रयासमा जुटेका थिए । तर, महासचिव लगायतका पदमा सहमति नजुटेपछि माओवादीमा पदाधिकारी चयन नगरी बैठक सक्ने तयारी भएको हो । 

सोमबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा नेताहरुबीच भएको छलफलमा पनि पदाधिकारी चयन निर्वाचनपछि नै गर्नेगरी छलफल भएको सहभागी एक नेताले जानकारी दिए । शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्था, एमसीसी र स्थानीय निर्वाचनबारे ब्रिफिङ गरेका थिए । त्यस्तै अर्का नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्दै एमसीसी अनुमोदनप्रति असन्तुष्टि जनाएका थिए ।

केन्द्रीय कमिटी बैठकका लागि विभिन्न ६ एजेण्डा तय भएका थिए । तीमध्ये अध्यक्षको तर्फबाट रिर्पोटिङ गर्ने काम सकिएको छ । आजको बैठकमा अध्यक्षले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिनेछन् । बाँकी एजेण्डामा संगठनात्मक काममा केन्द्रीय समितिलाई पूर्णता दिने, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीलाई पूर्णता दिने प्रस्ताव छन् । यस्तै, अर्को एजेण्डामा पार्टी नेताको कार्यविभाजन, स्थानीय निर्वाचन तयारीका विषय थिए । माओवादीको विधान अनुसार २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्नुपर्नेमा यसअघि २४७ जनामात्रै चयन गरेको थियो । आजको बैठक ११ बजे बस्ने भनेपनि अझै सुरु हुन सकेको छैन ।

सोमबार २३ फागुन २०७८ १२:०६ PM मा प्रकाशित

प्रतिक्रिया