×

विपत्तिमा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न कानुन निर्माण गरिनुपर्ने

images


काठमाडौँ, २४ फागुन : राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले विपद्मा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न कानुन बनाउनुपर्नेमा जोड दिनुभएको छ ।  

राजधानीमा आज आयोजित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मबाट महिलावादअन्तर्गत विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी सचेतना कार्यक्रममा उहाँले विपद्मा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्ने गरी कानुनी व्यवस्था गरी त्यसको कार्यान्वयनका लागि आवश्यक संरचना बनाइनुपर्नेमा जोड दिनुभएको हो । 
 
सेन्टर फर रिप्रोडक्टिभ राइट (सीआरआर), केयर,  निड्स नेपाल, ह्युमनेटेरियन पार्टनसिप प्लेटफर्म (एचपीपी) र महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा    प्रत्यक्ष चित्रकला प्रदर्शनी, नाटक, कविता, गीत सङ्गीत तथा अन्य प्रस्तुतीकरणबाट विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा सचेतना गराइएको थियो । चित्रकार उमेशचन्द्र अधिकारीले विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारबारे कार्यक्रमस्थलमै चित्र बनाउनुभएको थियो । उहाँले अतिथिबाट थिम लिएर तीन वटा चित्र बनाउनुभएको थियो । उहाँको चित्रलाई दर्शकले टिप्पणी गरेका थिए ।  

विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा नाट्यकर्मीले मार्मिक नाटक प्रस्तुत गरेका थिए । नाटक हेरेर दर्शक भावुक बनेका थिए । समाजिक परिवेशमा हसाउँदै उनीहरुले विषयवस्तु गहन ढङ्गले उठान गरेर बुझाउने प्रयास गरेका थिए । कवितामार्फत मुनु अधिकारीले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी वास्तविक पीडा अभिव्यक्त गर्नुभएको थियो । कोपी ¥यापरले प्रस्तुत गरेको ¥यापमा दर्शकले आनन्द लिएका थिए । उहाँको ¥यापमा महिलालाई सचेत गराइएको थियो ।

‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ लाई ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको मूल नारा बनाइएको उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले गर्नुभएको थियो ।   

     महिला, कानुन र विकास मञ्चका अध्यक्ष गीता अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद, अधिकारकर्मी, विभिन्न कलेजका कानुन अध्ययन गरिरहेका विद्यार्थीको उपस्थिति थियो ।
 

बिहीबार २४ फागुन २०८० ०५:५१ PM मा प्रकाशित

प्रतिक्रिया