×

एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

images

काठमाडौँ, २० मङ्सिर : सत्ता गठबन्धन दलको बैठकले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त विषयमा छानबिन गर्न सरकार तयार हुनुपर्ने र मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको हो ।
 
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले उक्त शेयर खरिदबिक्रीको सत्यतथ्य पत्ता लगाउन आगामी मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्ने जानकारी दिनुभयो । सरकारले प्रारम्भिक चरणमै एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा आवश्यक छानबिन गर्ने निर्णय गरिसकेको जानकारी दिँदै उहाँले सरकारको अग्रसरतालाई गठबन्धन दलका नेताहरुले समर्थन गर्नुभएको बताउनुभयो ।
 
मन्त्री शर्माले उक्त प्रकरणमा गठबन्धन दलका शीर्ष नेताको कुनै पनि संलग्नता नरहेको जनाउँदै त्यस्ता अफवाहमा कुनै पनि सत्यता नरहेको बताउनुभयो । “शीर्ष नेताको संलग्नता हुन्थ्यो भने छानबिनको कुरै हुँदैनथ्यो, सरकार नियम कानुन र राष्ट्रहित प्रति प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।
 
बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चारमन्त्री शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।

बुधबार २० मंसिर २०८० ०६:५५ AM मा प्रकाशित

प्रतिक्रिया