×

रातारात सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय

images

दाङ । स्थायी पूर्वाधारविना मन्त्रालयहरू दाङ नसार्न चौतर्फी दबाब भइरहेको बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचरलगायत सामान रातारात दाङ लगिएको छ । मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । मंगलबार बिहानैदेखि  देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको उनले बताए ।

उनले केही दिन अघिदेखि नै मुख्यमन्त्री कुलबहादुर केसी देउखुरीमै बसेर काम गरिरहेको बताए । ‘प्रदेशसभाको निर्णयलाई कार्यान्वयन गर्नका लागि मुख्यमन्त्रीज्यू लागिपर्नु भएको छ,’ उनले भने, ‘हिजो बुटवलबाट समानहरु ल्याइएको छ । अब मुख्यमन्त्रीले यहीँबाट काम गर्नुहुनेछ ।’

यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालय नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थियो। एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित चार सांसद लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालय सार्ने काम तुरुन्त रोक्न माग गरेका थिए।

यसअघि नै गृहमन्त्री बालकृष्ण खाँणले जबरजस्ती मन्त्रालय सार्ने काम भए बाटोबाटै खोसेर ल्याउने चेतावनी समेत दिएका थिए। गृहमन्त्री खाँणले हतारमा मन्त्रालय सार्ने काम रोक्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई फोन गरेर सचेत समेत गराएका थिए। तर यी सबका बाबजुद हतारोमा रातको समय पारेर मन्त्रालय सार्न खोज्नुले राजनीतिक द्वन्द्व बढाउन सक्ने राजनीतिक क्षेत्रमा विश्लेषण हुन थालेको छ।  

मंसिरभित्रै सबै मन्त्रालय देउखुरीमा स्थानान्तरण गरिसक्ने प्रदेश सरकारको तयारी छ । अब आन्तरिक मामिला मन्त्रालय, अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रण कार्यालय एकसाताभित्रै बुटवलबाट देउखुरी ल्याइनेछ । पर्यटन ग्रामीण तथा सहरी विकास र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय भने यसअघि नै स्थानान्तरण भइसकेका छन् ।

मङ्गलबार २० मंसिर २०७९ ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया