×

कुलमान घिसिङ हटाउँदा प्रचण्डलाई मुटुमै गोली लागेजस्तो भएको छ: योगेश भट्टराई

images

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अहिलेको सरकारले हटाएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विरोध गरेको विषयमा आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले विगतमा आफूले मुख्यसचिव बनाउँदा गरेको निर्णय र प्रधानसेनापति हटाएको विषय स्मरण गर्नपनि प्रचण्डलाई अनुरोध गरे । उनले कुलमान हटाएको विषयमा प्रचण्डले गरेको विरोधबारे भने,‘अहिले केपी शर्मा ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता, तपाईंको मुटुमा नै गोली लागेजस्तो किन भएको छ ? एउटा सहसचिव लेभलको कर्मचारी हो, सरकारसँग उसको ट्युनिङ मिलेन, उसको एउटा बन्दोबस्ती भयो । प्रधानसेनापति हटाएजस्तो कुरा त होईन । यस्ताखाले बेथितिहरु आफ्नो पालामा भएका छन् ।’

यो वर्षको नीति तथा कार्यक्रममा कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमतिको भावनाअनुसार नै आएको भट्टराईको दाबी छ । जनताको बीचमा देखिएको आक्रोशलाई सम्बोधन गर्ने उद्देश्यले दुई ठूला दल मिलेर सरकार बनाएको पनि उनको भनाई छ । अहिले देशमा विद्यमान सबैखाले समस्याको समाधान गर्नेगरि नीति तथा कार्यक्रम ल्याईएको उनले स्पष्ट पारे । 

त्यसक्रममा प्रचण्डले व्यक्त गरेको विचारको आलोचना गर्दै एमालेका सचिव समेत रहेका सांसद भट्टराईले सिसाको घरमा बसेर ढुंगा हान्ने काम नगर्न भनेका हुन् । ‘विपक्षी दलको नेताले पटक–पटक सार्वजनिक भाषण र यहाँ पनि भन्नुहुन्छ– यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, बिचौलिया । उहाँलाई मेरो यति मात्रै भनाइ छ– सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस्,’ योगेशले भनेका छन् ।

संविधानको धारा ७६ अनुसार प्रचण्डको नेतृत्वमा सरकार बन्दा प्राकृतिक हुने त्यही व्यवस्था अनुसार केपी अ‍ोलीको नेतृत्वमा सरकार बन्दा कसरी असंवैधानिक हुने ? भन्ने उनको प्रश्न छ । झापाको दमकमा बनेको भ्युटावरको आलोचना नगर्न पनि उनको आग्रह छ । कुनै अपराध गरेको जस्तो गरेर भ्युटावरको विरोध गरेर गीत नगाउन उनको विपक्षी दलहरूलाई आग्रह छ ।

मङ्गलबार २३ बैशाख २०८२ ०१:४६ PM मा प्रकाशित

प्रतिक्रिया