काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा अन्योल र अनिश्चयको भूमरी जस्तो अवस्था रहेको टिप्पणी गरेका छन्।
शनिबार चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले आज देशमा सबैतिर कताकता अन्योलको, अनिश्चयको भूमरीजस्तो अवस्था देखिएको बताएका हुन्।
प्रचण्डले सरकारले कर्मचारीतन्त्रलाई त्रसित र आतंकित बनाएर काम गराउदा प्रभावकारी नतिजा नआएको बताएका छन्। उनले राजनीति, कर्मचारीतन्त्रदेखि राज्यका सबै निकाय अलि बढी अन्योलमा रहेको बताए।
प्रचण्डले देश अहिले महाविपदको अवस्थामा रहेको भन्दै उद्धार कार्यलाई प्रभावकारी भएको भए अझै धेरै जनाको ज्यान जोगिने अवस्था देखिएको बताएका छन्।
उनले भने, ‘हामी सबैका लागि एउटा विचित्रको परिस्थिति छ। हिजो मात्रै १० दिनपछि टनेलमा रहेका दुई जना नेपालीको सकुशल उद्धार हुनु हामी सबैको निम्ति एकातिर सन्तोषको विषय भएको छ। अर्कोतिर समयमै उद्धार भएको भए अझ धेरैको ज्यान बच्ने रहेछ भन्ने पनि यसले प्रदर्शित गरेको छ।’
आगामी दिनमा विपद् व्यवस्थापन, उद्धार तथा राहतका काममा राज्यका सबै संयन्त्रलाई थप प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा प्रचण्डले जोड दिए । उनले विपद्को घडीमा कर्मचारी तथा सुरक्षाकर्मीलाई त्रास, भय वा दबाब सिर्जना गरेर काम गराउनेभन्दा उनीहरूलाई उत्प्रेरित गर्दै जिम्मेवारीपूर्वक काममा खटाउनुपर्ने बताए।
प्रचण्डले असल नेतृत्व, समर्पण, स्पष्ट नीति तथा योजनाको सही कार्यान्वयनमार्फत कर्मचारीको मनोबल उच्च राख्न सकिने धारणा राखे। त्रास देखाएर नभई प्रेरणा र जिम्मेवारीबोधका साथ कर्मचारीलाई परिचालन गरे मात्रै विपद्का समयमा प्रभावकारी परिणाम हासिल गर्न सकिने उनको भनाइ थियो ।
प्रतिक्रिया