काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलाउने खेलमा लागेको खुलासा गरेका छन्।
बुधबार संसद् भवनबाट बाहिरिँदै अध्यक्ष ओलीले वर्तमान सरकार ढलाउने खेलमा लागेको बताएका हुन्।
सञ्चारकर्मीले सोधेको सरकार ढलाउने खेलमा लागेको हो भन्ने प्रश्नको जवाफ दिँदै ओलीले ‘हो’ भनेका थिए।
त्यस्तै, उनले हामीलाई जवाफ नभइ प्रधानमन्त्री प्रचण्डको राजीनामा चाहिएको बताए।
राष्ट्रिय स्वाधीनता, स्वाभिमान, संविधान र संसदमाथि नै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन आवश्यक रहेको ओलीले बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले राम्रो काम गर्नु भएन । नराम्रो गर्दैगर्दै आएर अव राष्ट्रिय स्वाभिमान, स्वाधीनता आदि प्रश्नमाथि, संविधानमाथि, संसदमाथि घोर अपमान, यस्तो खालको अभिव्यक्ति दिनुभयो, जसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ । कसले स्पष्टीकरण दिनु भन्यो, कहाँ ? हामीलाई स्पष्टीकरण होइन राजीनामा चाहिएको छ ।’
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग पटकपटक पहल गरेको अभिव्यक्ति दिएपछि एमालेलगायतका विपक्ष दलहरुले राजीनामा माग गर्दै बुधबार संसद् बैठक अवरुद्ध पारेका थिए ।
प्रतिक्रिया