भारतसँगको पाँचौँ तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इङ्ग्ल्यान्डले कीर्तिमानी जित हासिल गरेको छ । भारतले दिएको तीन सय ७८ रनको लक्ष्य इङ्ल्यान्डले पाँचौँ दिनको खाना समयअघि नै मात्रै तीन विकेट गुमाएर पूरा गर्याे । इङ्ग्ल्यान्डले आफ्नो टेस्ट इतिहासमा अहिलेसम्मकै ठूलो लक्ष्य पूरा गरेर कीर्तिमान बनाएको हो । जितसँगै पाँच खेलको टेस्ट शृङ्खला दुई–दुईको बराबरीमा सकिएको छ ।
यसअघि इङ्ग्ल्यान्डले सन् २०१९ मा लिड्समा अस्ट्रेलियासँगकाे खेलमा तीन सय ५९ रनको लक्ष्य पूरा गरेको थियो ।
इङ्ग्ल्यान्डका जोय रुट एक सय ४२ र जोनी ब्रेस्टाे एक सय १४ रनमा नटआउट रहे । ब्रेस्टाेले पछिल्ला पाँच वटा खेलमा चार वटा शतक प्रहार गरेका छन् । एक सय नाै रनमा तीन विकेट गुमाएको इङ्ल्यान्डका लागि रुट र ब्रेस्टाेले दुई सय ५४ रनको साझेदारी गरे । रुटले भारतसँगको खेलमा अहिलेसम्मकै धेरै नाै वटा शतक पनि पूरा गरेका छन् ।
पहिलो पारीमा एक सय ३२ रनको अग्रता बनाएको भारतले दोस्रो पारीमा दुई सय ४५ रन बनाएपछि समग्रमा इङ्ग्ल्यान्डले तीन सय ७८ रनको लक्ष्य पाएको हो ।
गएको वर्ष पाँच खेलको टेस्ट शृङ्खला अन्तर्गत चार वटा टेस्ट सकिएपछि खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि हुँदा पाँचौँ टेस्ट रोकिएको थियो । गएको वर्षकै शृङ्खला अन्तर्गत भारत र इङ्ग्ल्यान्डले अहिले पाँचौँ टेस्ट खेलेका हुन् ।
प्रतिक्रिया