×

मोदीले सीमा समस्या समाधान गरिनेछ भनेर प्रष्ट भनेका छन् - प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भारत भ्रमणबारेमा सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा जवाफ दिइरहेका छन्। प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्यालाई समाधान गरिनेछ भनेर स्पष्ट शब्दमा भनेको बताए। 

प्रतिनिधिसभाको बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नमा जवाफ दिँदै सीमासम्बन्धी विषयलाई स्थापित कूटनीति संयन्त्रमार्फत् समाधान गर्न भारतका प्रधानमन्त्रीलाई गम्भीर ढंगले आग्रह गरेको बताए ।

‘प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायतका थाती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नु भएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ’, उनले भने ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले आफ्नो भारतको चार दिने औपचारिक भ्रमणबारे जानकारी गराए ।

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भिर भएर लागिपर्ने बताउनु भएको पनि संसदलाई जानकारी गराउनु भयो ।

सोमबार २२ जेठ २०८० १२:२२ PM मा प्रकाशित

प्रतिक्रिया