×

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने एमाले संसदीय दलको निर्णय

images

धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य सुरेन्द्र पालले जानकारी दिए ।

उनका अनुसार एमालेले शाहलाई विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज विश्वासको मत लिँदै छन् । आज माओवादी र कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएका छन् ।

हिजो माओवादीले यथास्थितिमा विश्वासको मत दिन नसकिने जनाएको थियो । नागरिक उन्मुक्तिले पनि लिखित सहमति नभए विश्वासको मत दिन नसकिने बताएको छ । आज १ बजे मुख्यमन्त्रीले विश्वासको मत दिएका छन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसदले उनलाई विश्वासको मत लिने निश्चित छ ।

तर सत्तारुढ गठबन्धनकै प्रमुख घटक माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले शक्ति बाँडफाँडमा लिखित सहमती मागेपछि शाह अप्ठ्यारोमा परेका छन् । माओवादी केन्द्रले मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमती नभएको अवस्थामा विश्वासको मत नसकिने निर्णय नै गरेको छ ।

त्यस बाहेक नागरिक उन्मुक्ति र माओवादी मध्ये एक ले विश्वासको मत दिए पनि शाह सरकार जोगिन्छ । दुवैले विश्वासको मत नलिए आजै सरकार ढल्ने छ । 

आइतबार​ २१ फागुन २०७९ १०:५४ AM मा प्रकाशित

प्रतिक्रिया