×

अवैध रुपमा बसोवास गरिरहेका नेपालीहरू लाई अमेरिकाले गर्‍यो चार्टर विमानबाट डिपोर्ट

images

काठमाडौं । अमेरिकामा अवैध रुपमा बसोवास गरिरहेका नेपालीलाई लिएर पहिलोपटक अमेरिकाको चार्टर विमान काठमाडौं अवतरण भएको छ । अवैध आप्रवासी नेपालीलाई लिएर आएको ग्रिफोन एयरको जहाज काठमाडौं आएको हो । 

अमेरिकाले पहिलोपटक अवैध आप्रवासी नेपालीलाई चार्टर जहाजमार्फत डिपोर्ट गरेको हो । यो जहाजमा १० जना नेपाली ल्याइएको बताइएको छ । ती नेपाली बोकेको चार्टर विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । 

यो विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको हो । यसअघि अमेरिकाले व्यवसायिक विमानबाटै नेपालीलाई डिपोर्ट गरिरहेको थियो । यसअघि व्यवसायिक उडानबाट २७ नेपालीलाई काठमाडौं उतारिसकिएको हो ।

डिपोर्ट गरिएका नेपालीहरुमध्ये केहीलाई अमेरिकाको अध्यागमन हेर्ने अदालतले अवैध रुपमा बसोवास गरेको ठहर गर्दै निष्काशनको फैसला सुनाएको थियो भने केहीलाई अवैध रुपमा काम गरिरहेका बेला पक्राउ गरिएको थियो ।

डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि अवैध आप्रवासीलाई देशनिकाला गर्ने नीतिअन्तर्गत यी नेपाली निष्काशनमा परेका हुन् । यसअघि अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टले देशनिकाला गरिने विदेशीको सूची संख्या जारी गरेको थियो जसमा साढे १३ सयभन्दा बढी नेपाली भएको बताइएको थियो ।

अमेरिकी सरकारको तथ्यांकअनुसार यसअघिका अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकालमा ९ हजार नेपाली बिना भिसा अमेरिका छिरेका थिए । यसरी छिरेका झण्डै एक तिहाइलाई अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टले हिरासतमा लिएको थियो । डोनाल्ड ट्रम्प प्रशासनले गैरकानुनी रूपमा अमेरिका बसोबास गर्दै आएका विभिन्न देशका मानिसहरूलाई निस्कासन गर्दै आएको छ।

बुधबार २१ फागुन २०८१ ११:०७ AM मा प्रकाशित

प्रतिक्रिया